• २७ वैशाख २०८३, आइतबार

कर्मचारी अनुपस्थित हुँदा पूर्वाधार विकास कार्यालय सुनसान

blog

पूर्वाधार विकास कार्यालय रौतहट । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा
रौतहट, वैशाख २७ गते ।
पूर्वाधार विकास कार्यालय रौतहटमा कर्मचारीहरू नियमित रूपमा कार्यालयमा उपस्थित नहुँदा कार्यालय सुनसान बनेको छ ।

कार्यालय प्रमुखदेखि प्रशासन तथा योजना शाखासम्मका कर्मचारी विगत एक साताभन्दा बढी समयदेखि अनियमित रूपमा कार्यालय आउने गरेको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

कर्मचारी बस्ने फाँटहरू खुला रहने गरे पनि कर्मचारी उपस्थित नहुँदा योजनासम्बन्धी कामका लागि पटक–पटक कार्यालय धाउनुपरेको दुर्गा भगवती गाउँपालिका–२ का अशोककुमार साहले बताउनुभयो ।

आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा कर्मचारीहरू एकैपटक कार्यालयबाट अनुपस्थित हुने गरेको स्थानीयवासीको भनाइ छ । कार्यालय खालीजस्तै हुँदा सेवा लिन आउने सेवाग्राही निराश बन्ने गरेका छन् । कर्मचारी कहाँ र किन गएका हुन् भन्नेबारे कुनै जानकारी नपाइने गरेको सेवाग्राहीहरूको गुनासो छ ।

कार्यालय प्रमुख दीपककुमार मिश्रको शहरी विकास मन्त्रालयमा सरुवा भएपछि पूर्वाधार विकास कार्यालय सर्लाहीबाट सरुवा भई आएका सिडिइ विजय यादव बुधबार हाजिर भए पनि बिहीबार र शुक्रबार कार्यालय पुनः सुनसान देखिएको थियो ।

कार्यालयका सूचना अधिकारी अनिलकुमार साहका अनुसार कार्यालयमा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको यकिन विवरणसमेत व्यवस्थित छैन । प्राविधिक कर्मचारीहरू फिल्डमा जानुपर्ने भएकाले कार्यालयमा कम देखिने गरेको उहाँको भनाइ छ ।

कार्यालय प्रमुख नै प्रायः अनुपस्थित रहने गरेकाले अन्य कर्मचारीमा पनि अनुशासनहीनता बढेको कर्मचारीहरूको भनाइ छ ।

झन्डै तीन अर्ब रुपियाँभन्दा बढी बजेट रहेको कार्यालयमा सेवाग्राहीलाई आवश्यक जानकारी दिन सोधपुछ कक्षसमेतको व्यवस्था नगरिएको गौर–२ का विकासकुमार झाले गुनासो गर्नुभयो ।

कार्यालयमा कर्मचारी अनुपस्थित रहने विषयमा भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेशका निमित्त सचिव संजयप्रसाद साहले जनगुनासो आएको स्वीकार गर्दै जिल्ला प्रशासन कार्यालयले नियमित रूपमा छड्के अनुगमन गर्नुपर्ने बताउनुभयो ।

स्थानीयवासीका अनुसार जिल्ला प्रशासन कार्यालयकै छेउमा रहेको कार्यालयमा समेत प्रभावकारी अनुगमन नहुँदा बेथिति बढ्दै गएको छ ।

सरकार परिवर्तनसँगै संघीय सरकारका कार्यालय तथा स्थानीय तहमा कर्मचारी नियमित रूपमा कार्यालय जान थाले पनि मधेश प्रदेश सरकार मातहतका कार्यालयमा भने बेथिति कायम रहेको स्थानीयको भनाइ छ ।