हुम्ला समाचारदाता
हुम्ला, वैशाख २७ गते । हिमाली जिल्ला हुम्लामा २५ प्रतिशतभन्दा बढी किशोरी १९ वर्षमुनि नै सुत्केरी हुने गरेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाएको छ । उमेर नपुगी विवाह गर्ने चलन बढ्दै जाँदा सानै उमेरमा सुत्केरी हुने किशोरीको सङ्ख्यामा जिल्लाभर वृद्धि हुँदै गएको छ ।
जिल्लाका सात वटै गाउँपालिकामा गत साउनदेखि चैत मसान्तसम्म २५ प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले देखाएको छ । यो अवधिमा जिल्लाका सात वटै गाउँपालिकामा ५९४ जना सुत्केरी भएको र त्यसमध्ये १५० जना किशोरी १९ वर्षमुनिका रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका तथ्याङ्क सहायक दुर्गा श्रेष्ठले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा यो उमेर समूहका सुत्केरी हुने किशोरीको सङ्ख्या १३७ जना थिए । अझ त्योभन्दा अघिल्लो वर्षमा १०७ जना किशोरी रहेका थिए ।
यस आवका तीन महिना अझै बाँकी रहेको कारण यो सङ्ख्या अझै वृद्धि हुने देखिन्छ । २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्या सबैभन्दा बढी सिमकोट गाउँपालिकामा ४० जना रहेका छन् । यो सङ्ख्या नाम्खा गाउँपालिकामा भने शून्य रहेको छ । पछिल्लो समय उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या घट्नुभन्दा झन् वृद्धि भइरहेको श्रेष्ठले बताउनुभयो । उमेर नपुग्दै विवाह गरेर बच्चा जन्माउनुको मुख्य कारण अशिक्षा, गरिबीलगायतका समस्याले यस्ता घटना बढ्दो क्रममा रहेको उहाँको भनाइ छ ।
यसको प्रत्यक्ष नकारात्मक असरका रूपमा बालबालिकामा कुपोषण देखिने गरेको छ । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माएर पोषणमा ध्यान नदिने जस्ता समस्याले हुम्लाका बालबालिकामा कुपोषण देखिने गरेको जानकारी तथ्याङ्क सहायक श्रेष्ठले बताउनुभयो ।