विजयकुमार साह
ढल्केबर, वैशाख २७ गते । धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ चित्रपुरस्थित लक्ष्मी माध्यमिक विद्यालयले पहिलोपटक अनलाइन प्रविधिमार्फत अतिरिक्त कक्षा सञ्चालनमा ल्याएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यसहित विद्यालयले डिजिटल माध्यमबाट अतिरिक्त कक्षा सुरु गरेको हो ।
विद्यालयका प्रधानाध्यापक अशोककुमार ठाकुरले कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी अनलाइन अतिरिक्त कक्षा सञ्चालन गरिएको बताउनुभयो । नियमित कक्षासँगै अतिरिक्त अभ्यास गराउँदा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आउने उहाँको भनाइ छ ।
उहाँले सामुदायिक विद्यालयमध्ये यस्तो प्रविधिमैत्री अभ्यास जिल्लामै पहिलो भएको दाबी गर्दै भन्नुभयो, “ग्रामीण क्षेत्रका विद्यार्थीलाई पनि प्रविधिसँग जोडेर प्रतिस्पर्धी बनाउने हाम्रो लक्ष्य हो । अनलाइन कक्षाले विद्यार्थीको आत्मविश्वास बढ्ने विश्वास छ ।”
विद्यालय प्रविधिमैत्री बन्दै गएको उल्लेख गर्दै उहाँले विभिन्न सङ्घसंस्थाबाट कम्प्युटरलगायत उपकरण सहयोग प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार आफन्त नेपालले एक थान स्मार्टबोर्ड र १५ थान कम्प्युटर उपलब्ध गराएको छ भने नेपाल टेलिकमले २४ थान कम्प्युटर र एक थान स्मार्टबोर्ड सहयोग गरेको छ ।
प्राप्त उपकरणको प्रयोगमार्फत विद्यालयले डिजिटल शिक्षणलाई प्रभावकारी बनाउने प्रयास थालेको छ । शिक्षकहरूले अनलाइन प्रविधिमार्फत अतिरिक्त कक्षा सञ्चालन गरिरहेका छन् भने विद्यार्थीले घरमै बसेर पनि अध्ययन निरन्तरता दिइरहेका छन्, प्रधानाध्यापक ठाकुरले बताउनुभयो ।
विद्यालयले आगामी दिनमा थप कक्षामा अनलाइन प्रणाली विस्तार गर्दै डिजिटल शिक्षालाई अझ सुदृढ बनाउने योजना रहेको जनाएको छ ।