• २७ वैशाख २०८३, आइतबार

जोखिमयुक्त दुई सय रुख काटिँदै

blog

देवघाटधाम जाने सडकमा रहेका रुखको अवस्था । तस्बिर : शालिग्राम नेपाल

चितवन समाचारदाता

चितवन, वैशाख २७ गते । पूर्वपश्चिम राजमार्ग तथा अन्य सडक क्षेत्रमा रहेका दुई सयभन्दा धेरै रुख काट्न थालिएको छ । विकासनिर्माणमा बाधा पुर्‍याएका तथा यात्रा गर्दा जोखिम हुने साल तथा अन्य जातका रुख काट्न थालिएको हो । डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यले विपत् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार जोखिम पार्दै आएका रुख काट्न थालिएको जानकारी दिनुभयो । 

“पहिलो चरणमा भरतपुरको आँपटारीदेखि देवघाटधामसम्मको सडक क्षेत्रका २५ वटा रुख काटिएको छ,” उहाँले भन्नुभयो, “देवघाट जानका लागि रुखको कारण साँघुरो भएको थियो, बिच सडकमा रुख हुँदा यात्रा जोखिम बन्दै गएपछि काट्न बाध्य भएका हौँ ।”

देवघाट क्षेत्र विकास समितिले ६२ वटा रुख काट्न माग गरेको थियो । प्राविधिकको मूल्याङ्कनपछि पहिलो चरणमा २५ वटा मात्र रुख काटिएको हो । आवश्यकता अनुसार काट्न मिल्ने रुख पछि काटिने डिभिजन वन कार्यालय प्रमुख आचार्यले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय चितवनले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन र देवघाट क्षेत्र विकास समितिको समन्वयमा कानुन अनुसार रुख काटिएको छ । वन नियमावली, २०७९ तेस्रो संशोधन अनुसार सडक, विद्युत्, टेलिकमलगायतका विकासनिर्माणका क्रममा जोखिम पर्ने रुख काट्न पाइने नियम छ । देवघाटधाम नेपालको प्रमुखमध्येको एक धार्मिक स्थलसमेत हो । यस सडकमा दैनिक हजारौँ सवारी साधन गुड्ने गर्दछन् । यहाँ सडकको बिचमा समेत रुख थिए । 

डिभिजन वन कार्यालय चितवनका प्रमुख आचार्यले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुरको गोन्द्राङदेखि टिकौलीसम्मको क्षेत्रमा जोखिममा रहेका एक दर्जनभन्दा धेरै रुख काट्ने तयारी रहेको बताउनुभयो । यसै गरी भरतपुरको भोजाड र लामाटोलबाट पूर्वी चितवनको कालिका नगरपालिका जाने सडक, मुग्लिङ–नारायणगढ सडक अन्तर्गत सिमलताल क्षेत्र, पदमपुर, रामपुर क्याम्पसलगायत दर्जनभन्दा धेरै स्थानमा जेठ १५ भित्र रुख काट्ने उहाँले बताउनुभयो । विपत्को कारण जोखिम रहेका ठाउँका रुख काट्ने कार्य भइराखेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । दैनिक सवारी साधन चल्ने स्थानमा रहेका रुख पहिचान गरेर काट्न थालिएको छ ।