• २७ वैशाख २०८३, आइतबार

पाकिस्तानको उत्तर-पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ जना प्रहरीको मृत्यु

blog

पेशावर, वैशाख २७ गते । पाकिस्तानको उत्तर/पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण र त्यसपछि भएको गोलीबारीमा कम्तीमा १२ जना प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बन्नु जिल्लाको फतेह खेल क्षेत्रमा रहेको प्रहरी चौकीमा आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको सवारीसाधन ठोक्काएर विस्फोट गराएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । विस्फोटपछि केही सशस्त्र समूहका सदस्यले चौकीमा प्रवेश गरी प्रहरीमाथि गोली चलाएको जनाइएको छ । बन्नु प्रहरीका एक अधिकारीका अनुसार घटनामा १२ जना प्रहरीको मृत्यु पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन् ।

अधिकारीले आक्रमणकारीले भारी हतियारका साथै साना ड्रोन पनि प्रयोग गरेको बताएका छन् । उनीहरूका अनुसार आक्रमणपछि फर्कने क्रममा आक्रमणकारीले प्रहरीका हतियार र केही कर्मचारीलाई समेत लिएर गएको प्रारम्भिक जानकारी छ । बन्नु पछिल्ला वर्षमा बढ्दो सशस्त्र गतिविधिबाट प्रभावित क्षेत्रका रूपमा रहँदै आएको छ । पाकिस्तान र अफगानिस्तानबिच सीमावर्ती क्षेत्रमा बढ्दो तनावका बिच यो आक्रमण भएको हो । 

इस्लामाबादले अफगान भूमिलाई केही समूहका लागि सुरक्षित आश्रयस्थल भएको आरोप लगाउँदै आएको छ भने काबुलले सो आरोप अस्वीकार गर्दै आएको छ । पछिल्ला महिनामा दुवै देशबिच सम्बन्ध थप तनावपूर्ण बन्दै गएको र सीमावर्ती क्षेत्रमा हिंसात्मक झडपसमेत भएको उल्लेख गरिएको छ । रासस/एएफपी