• २७ वैशाख २०८३, आइतबार

एमडी, एमएस र एमडिएसलाई उच्च शैक्षिक योग्यताको मान्यता दिन चिकित्सक सङ्घको माग

blog

काठमाडौँ, वैशाख २७ गते । नेपाल चिकित्सक सङ्घले चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको छ ।

नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रका एमडी, एमएस र एमडिएस उपाधिलाई उच्च शैक्षिक योग्यताका रूपमा मान्यता दिन सरकारसँग माग गरेको हो ।

विज्ञप्तिमा विश्वविद्यालयका उपकुलपतिलगायत अन्य पदमा नियुक्तिका लागि कम्तीमा विद्यावारिधि (पिएचडी) उपाधि अनिवार्य गरिने व्यवस्था प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा नेपालको चिकित्सा क्षेत्रमा एमडी, एमएस र एमडिएसलाई उच्च तहको उपाधिका रूपमा मान्यता दिइँदै आएको उल्लेख गरिएको छ ।

नेपालमा पिएचडी अध्ययन–अध्यापन गर्ने संस्था न्युन रहेको अवस्थामा विद्यावारिधिलाई मात्रै न्युनतम शैक्षिक योग्यताका रूपमा तोकिँदा लामो समयदेखि उच्च शिक्षा हासिल गरेका वरिष्ठ प्राध्यापक अवसरबाट वञ्चित हुनसक्ने सङ्घको भनाइ छ ।

सङ्घका अनुसार मेडिकल तथा डेन्टल विषयमा एमडी, एमएस र एमडिएस उपाधि प्राप्त वरिष्ठ प्राध्यापकले डिएम, एमसिएच तथा पिएचडी तहसम्म अध्ययन, अध्यापन र सुपरिवेक्षण गर्दै आएका छन् ।  

त्यसैले चिकित्सा क्षेत्रको हकमा एमडी, एमएस र एमडिएसलाई नै उच्च शैक्षिक योग्यताको मान्यता दिन आवश्यक रहेको सङ्घले जनाएको छ ।

सङ्घका महासचिव डा.सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा चिकित्सा शिक्षा क्षेत्रको विशिष्टतालाई ध्यानमा राखी आवश्यक निर्णय गर्न सरकारसँग यस्तो माग गरेको जानकारी दिनुभयो ।