अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २७ गते । ‘मुन लाइट गु्रप’ चापाकोट क्रिकेट लिगमा गण्डकी फायर विजयी भएको छ । आइतबार भएको खेलमा गण्डकीले कुवाकोट युथ स्टारलाई पाँच विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो ।
चापाकोट–१०, गङ्गालाल माविको खेलमैदानमा चापाकोट नगर क्रिकेट सङ्घले चापाकोट नगरपालिकाको संरक्षकत्वमा आयोजना गरिएको प्रतियोगितामा पहिला ब्याटिङ गरेको कुवाकोट युथ स्टार निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।
कुवाकोट तर्फबाट भुवन भट्राइले ४०, इश्वर क्षेत्रीले ३६, मिलन क्षेत्रीले १९ रन बनाउँदा गण्डकीका विकल क्षेत्रीले दुई, सन्दीप क्षेत्री, रामचन्द्र ढकाल, सुजन गौतम र स्वप्निल भट्राइले एक एक विकेट लिनुभएको थियो ।
१३६ रनको लक्ष्य पाएको गण्डकीले १८.१ ओभरमा पाँच विकेटको क्षतिमा १४० रन बनाएको थियो । गण्डकीको लागि सुजन गौतमले ३२, विशाल कोइरालाले २९, विकल क्षेत्रीले २१ रन बनाउदाँ कुवाकोटका प्रकाश खनाल र मिलन क्षेत्रीले दुई दुई विकेट लिनु भएको थियो ।
टि ट्वान्टी रोविन सिस्टममा खेलाइएको प्रतियोगिता जेठ २ गते सम्म चल्ने छ । यस प्रतियोगितामा पहिलो हुने सिधै फाइनलमा पुग्ने छ भने दोस्रो र तेस्रो सेमिफाइनलमा लडेर फाइनमा पुग्ने चापाकोट नगर क्रिकेट सङ्घका अध्यक्ष प्रेमनारायण रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथमले एक लाख १० हजार र दोस्रोले ६० हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।