सन्तोष दहित
दाङ, वैशाख २७ गते । थारू समुदायको परम्परागत मटाँवा-बरघर-भलमन्सा प्रथाको संरक्षण, प्रवर्धन तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन आयोजना हुने भएको छ।
मटाँवा बरघर भलमन्सा सङ्घ केन्द्रीय समितिको आयोजनामा वैशाख २८ गतेदेखि दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय परिसरमा दुई दिने “थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटाँवा बरघर भलमन्साको अन्तर प्रदेशस्तरीय सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रम” हुन लागेको हो।
सम्मेलनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलपरासीलगायत जिल्लाबाट करिब एक हजारभन्दा बढी मटाँवा, बरघर, भलमन्सा तथा थारू अगुवाहरू सहभागी हुने मटाँवा बरघर भलमन्सा सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार थारू समुदायमा आदिमकालदेखि चलिआएको मटाँवा-बरघर-भलमन्सा प्रथा गाउँ समाज सञ्चालन गर्ने परम्परागत संरचना तथा अलिखित कानुनी अभ्यासका रूपमा स्थापित छ। जिल्ला अनुसार फरक नामले चिनिए पनि यसको उद्देश्य र भूमिका एउटै रहेको उहाँले बताउनुभयो।
थारू समुदायले माघ पर्वको अवसरमा गाउँ-गाउँमा छलफल तथा सर्वसम्मतिबाट मटाँवा, बरघर वा भलमन्सा चयन गर्ने परम्परा रहिआएको छ।
उनीहरूले गाउँको नेतृत्व गर्दै सामाजिक विवाद समाधान, संस्कार संरक्षण तथा सामुदायिक व्यवस्थापनको भूमिका निर्वाह गर्दै आएका छन्।
सङ्घका अनुसार सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले गर्नुहुने छ।कार्यक्रममा पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँके तथा सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर, दाङले समन्वय तथा सहकार्य गरेका छन्।
सम्मेलनमा थारू समुदायको आर्थिक सशक्तीकरण, प्रथाजनित कानुन, अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अपनाउनुपर्ने रणनीति, थारू संस्कारको संरक्षण तथा प्रवर्धन, बालविवाहमुक्त अभियानमा मटाँवा-बरघरहरूको भूमिका लगायत विषयमा छलफल सत्र सञ्चालन हुने छन्।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुरेन्द्र चौधरी, प्रा.डा. कृष्ण भट्टचन, बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी, थारू संस्कृतिविद् अशोक थारू, इलाका प्रहरी कार्यालयका प्रमुख होमबहादुर पराजुली तथा बेस संस्थाकी कार्यक्रम निर्देशक पिंकी डाँगीले स्रोत व्यक्तिका रूपमा सहजीकरण गर्ने कार्यक्रम रहेको छ।
यस्तै, थारू समुदायमा प्रचलित प्रथाजनित कानुन निर्माण तथा कार्यान्वयनमा योगदान पुर्याउने स्थानीय तह, गुरुवा तथा मटाँवा-बरघरलाई सम्मान गर्ने कार्यक्रम समेत सम्मेलनमा समावेश गरिएको आयोजकले जनाएको छ।