• २७ वैशाख २०८३, आइतबार

विद्यालयबाट नगदसहित क्यामेरा र मोबाइल चोरी

blog

इमान सिं राना 

रामपुर (पाल्पा), वैशाख २७ गते । रामपुर नगरपालिका ७ स्थित आधारभूत माध्यमिक विद्यालयमा गएराति चोरी भएको छ ।

विद्यालयको प्रधानाध्यापक कक्ष र लेखा कक्षबाट नगद सहित एक थान क्यामेरा र एक थान मोबाइल चोरी भएको हो ।

आइतबार बिहान प्रधानाध्यापक र लेखा कक्ष रहेको कोठाको ढोकाको ताला फुटाएको अवस्थामा भेटिएको थियो ।

लेखा कक्षको नगद सहितको टेबल विद्यालय बाट आठ सय मिटर पर दट्यौली खोलाको तिरमा लगेर फोरिएको अवस्थामा भेटिएको छ ।

विद्यालयमा रहेको क्यानको एक थान क्यामेरा, रेड्मीको एक थान मोबाइल सहित ३० हजार नगद चोरी भएको विद्यालयका प्रधानाध्यापक रूपनाथ गौतमले जानकारी दिनुभयो ।

नगद र जिन्सी सहित दुई लाख भन्दा बढीको चोरी भएको उहाँले बताउनुभयो । विद्यालयको पश्चिम हाता बाट प्रवेश गरी ताला फुटाएर चोरी गरेको पाइएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।

घटना रातको १२ बजेको समयमा भएको हुन सक्ने आशङ्का गरिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।