इमान सिं राना
रामपुर (पाल्पा), वैशाख २७ गते। तेस्रो निस्दी कपको उपाधि पिरामिड कन्स्ट्रक्सन हङकङले जितेको छ । तेस्रो निस्दी खेलकुद महोत्सव अन्तर्गत भएको क्लब स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा शाही फलफूल वालिङलाई ३–१ सेट अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
पिरामिडले पहिलो, दोस्रो र चौथो सेट २५–२३, २५–१५ र २५–१७ अङ्क सहित जित निकाल्दै उपाधि आफ्नो पक्षमा पारेको हो । तेस्रो सेट वालिङले २५–२२ अङ्कसहित जितेको थियो । यससँगै वालिङले द्वितीय स्थानमा चित्त बुझाएको छ । गत वैशाख २२ देखि भएको प्रतियोगितामा मण्डली स्पोर्टस् क्लब पाल्पा तृतीय भएको छ।
जिएम समाज सान्त्वना भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा भएको खेलकुद महोत्सव अन्तर्गत खुला महिला भलिबल समेत भएको थियो । जस अन्तर्गत खुला महिला प्रतियोगिताको उपाधि निस्दी भलिबल सङ्घले हात पारेको छ । फाइनल खेलमा बागलुङ भलिबल सङ्घलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । निस्दी भलिबल सङ्घले पहिलो, दोस्रो र तेस्रो सेट २५–१८, २५–०९ र २५–१२ अङ्कसहित जितेको थियो । निस्दी गाउँपालिका–५, ढुङ्गाना वेँशीमा भएको प्रतियोगितामा बागलुङ भलिबल सङ्घ द्वितीय स्थानमा सीमित बनेको छ।
तेस्रो स्थान छनाेटका लागि भएको खेलमा पृथ्वीनगर नवलपुरलाई ३–२ सेटले पराजित गर्दै स्टेप रामपुरले तृतीय स्थान सुनिश्चित गरेको थियो । यससँगै पृथ्वी नगर सान्त्वना भएको छ । पुरुष भलिबल प्रतियोगिताको विजेता समूहमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः नगद एक लाख ५५ हजार ५५५ रुपियाँ, एक लाख पाँच हजार ५५५ रुपियाँ, ५५ हजार ५५५ रुपियाँ र २५ हजार ५५५ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । महिला भलिबलतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः नगद ५० हजार रुपियाँ, ३० हजार रुपियाँ, २० हजार रुपियाँ र १० रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा सम्मान गरिएको थियो।