बाबुराम शर्मा
दोलखा, वैशाख २७ गते । सम्भव (पोसिबल)को आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल अस्पतालद्वारा दोलखाका चार स्थानीय तहमा सञ्चालित सामुदायिक स्वास्थ्य सहयोग कार्यक्रमबाट हजारौँ आमा तथा शिशु लाभान्वित भएका छन् ।
गत २०७३ सालदेखि मातृ तथा शिशु मृत्यु दर घटाउने मुख्य उद्देश्यसहित भीमेश्वर नगरपालिका, कालिञ्चोक, तामाकोसी र वैतेश्वर गाउँपालिकामा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट पटक–पटक सेवा प्रदान गर्दै हालसम्म ६३ हजारभन्दा बढी आमा तथा शिशु लाभान्वित भएको कार्यक्रम संयोजक विष्णु पौडेलले जानकारी दिनुभयो ।
यसअघि न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले सुरु गरेको यो कार्यक्रम महिलाहरूका लागि प्रभावकारी देखिएपछि निरन्तरता दिइएको हो । कार्यक्रम अन्तर्गत हालसम्म भीमेश्वरमा ११ हजार २५७, वैतेश्वरमा ८ हजार १६, तामाकोसीमा ६ हजार ५६० र कालिञ्चोकमा ७ हजार ६५२ घरधुरी दर्ता भएका छन् ।
कार्यक्रम संयोजक पौडेलका अनुसार प्रत्येक वडामा रहेका सामुदायिक स्वास्थ्य कार्यकर्तामार्फत गाउँका ४९ वर्षसम्मका विवाहित महिलालाई प्रजनन स्वास्थ्य तथा गर्भावस्था परीक्षणबारे परामर्श दिने, महिनैपिच्छे स्वास्थ्य चौकीमा परीक्षणका लागि समन्वय तथा सहजीकरण गर्ने काम भइरहेको छ ।
त्यसैगरी, सुत्केरी हुन स्वास्थ्य संस्था जान प्रेरित गर्ने, पोषणसम्बन्धी जानकारी दिने तथा रगत समूह परीक्षणको व्यवस्था मिलाउने काम पनि कार्यक्रम अन्तर्गत हुँदै आएको छ । सुत्केरी महिलालाई तीनदेखि सात महिनासम्म महिनामा एक पटक भेट गरी स्वास्थ्यसम्बन्धी जानकारी दिने गरिएको उहाँले बताउनुभयो ।
यसका लागि भीमेश्वरमा १५, कालिञ्चोकमा ११ तथा वैतेश्वर र तामाकोसीमा नौरनौ जना सामुदायिक स्वास्थ्य कार्यकर्ता परिचालित छन् ।
आर्थिक वर्ष २०८१/०८२ मा घरभेट कार्यक्रम अन्तर्गत भीमेश्वर नगरपालिकामा २३ हजार ४२७, वैतेश्वरमा १० हजार ५९९, तामाकोसीमा १० हजार ३६९ र कालिञ्चोकमा १५ हजार ६२५ जना ४९ वर्षसम्मका विवाहित महिलालाई भेटेर स्वास्थ्यसम्बन्धी जानकारी तथा परामर्श प्रदान गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी, भीमेश्वरमा १ हजार ४३, वैतेश्वरमा ३६८, तामाकोसीमा ३२९ र कालिञ्चोकमा ६३४ गरी कुल २ हजार ३७४ जना दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ ।
वडास्तरमै भिडियो एक्स–रे सेवा उपलब्ध गराउने सामूहिक गर्भ स्याहार कार्यक्रम अन्तर्गत ३४२ जना महिला लाभान्वित भएको कार्यक्रम संयोजक पौडेलले जानकारी दिनुभयो ।