• २७ वैशाख २०८३, आइतबार

विश्व लुपस दिवस मनाइँदै, जनचेतना अभिवृद्धिमा जोड

blog

काठमाडौँ,  वैशाख २७ गते । विश्व लुपस दिवस–२०२६ आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मे १० का दिन यो दिवस मनाउने गरिन्छ ।

चिकित्सकका अनुसार लुपस एक दीर्घकालीन अटोइम्युन रोग हो । यस रोगमा शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै शरीरका विभिन्न अङ्ग तथा तन्तुमा असर पुर्‍याउने गर्दछ । रोगबारे पर्याप्त जानकारी र सही बुझाइको अभावका कारण धेरै बिरामीले समयमै उपचार तथा आवश्यक सहयोग पाउन नसकेको चिकित्सकको भनाइ छ । 

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार बाहिरबाट हेर्दा लुपस रोग सधैँ नदेखिन सक्ने भए पनि यसको गम्भीर असर बिरामी र उनीहरूका परिवारको जीवनमा पार्ने गर्छ ।

समयमै रोग पहिचान, नियमित उपचार, सामाजिक सहयोग तथा संवेदनशील व्यवहारले बिरामीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने केन्द्रले जनाएको छ ।

केन्द्रले सबै स्वास्थ्यकर्मी, नीतिनिर्माता, सञ्चारकर्मी, नागरिक समाज तथा समुदायलाई लुपसबारे जनचेतना अभिवृद्धि गर्न, बिरामीलाई साथ दिन तथा गुणस्तरीय उपचार सेवामा पहुँच सुनिश्चित गर्न एकजुट हुन आग्रह गरेको छ ।

विश्व लुपस दिवसका अवसरमा विभिन्न स्वास्थ्य संस्थाले जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा सूचना प्रवाहका गतिविधि सञ्चालन गरेका छन् ।