• २७ वैशाख २०८३, आइतबार

उन्नत केरा खेतीतर्फ महोत्तरीका किसानको बढ्दो आकर्षण

blog

गौशाला नगरपालिका–११, भरतपुरका किसान रामएकवाल महतोले लगाएको केरा खेती । तस्बिरः अजय शाह

अजय शाह 

गौशाला (महोत्तरी), वैशाख २७ गते । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा पछिल्ला केही वर्षदेखि किसानको आकर्षण व्यावसायिक उन्नत केरा खेतीतर्फ तीव्र रूपमा बढ्दै गएको छ।

परम्परागत खेती प्रणालीबाट अपेक्षित आम्दानी हुन छाडेपछि किसान कम क्षेत्रफलमा बढी उत्पादन र राम्रो बजार मूल्य दिने उन्नत जातका केरा खेतीतर्फ उन्मुख भएका हुन्।

गौशाला, भङ्गाहा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिकाका किसानहरूले अहिले परम्परागत मिर्चमान, झपरी, बत्तीसा र स्थानीय मालभोग जातका केराभन्दा रोवेष्ट्रा, इजी नाइन, विलियम हाइब्रिड र उन्नत मालभोग जातका केरालाई प्राथमिकता दिन थालेका छन्। सानो बोट, ठुलो घरी, धेरै हात लाग्ने र स्वादिष्ट हुने भएकाले रोवेष्ट्रा र इजी नाइन जात किसानहरूको पहिलो रोजाइ बन्दै गएको देखिन्छ।

गौशाला नगरपालिका–११, भरतपुरका किसान रामएकवाल महतो पाँच वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आउनुभएको छ। उहाँले अहिले पाँच बिघा क्षेत्रफलमा इजी नाइन, रोवेष्ट्रा र उन्नत मालभोग जातका केरा लगाउनुभएको छ।

 महतोका अनुसार खर्च कटाएर वार्षिक तीन लाख रुपियाँभन्दा बढी आम्दानी हुने गरेको छ।“यो वर्षको उत्पादन पनि अग्रिम रूपमा बिक्री भइसकेको छ,” उहाँले भन्नुभयो, “प्रति कोसा साढे चार रुपियाँका दरले कारोबार भइरहेको छ भने एक घरी केरा तीनदेखि चार सय रुपियाँसम्ममा बिक्री हुन्छ।”

सम्सी गाउँपालिका–५, गाढाभेटपुरका किसान रामध्यान मण्डल पनि व्यावसायिक केरा खेतीबाट उत्साहित हुनुहुन्छ।

उहाँका अनुसार रोवेष्ट्रा र इजी नाइन जातको केरा सानो बोट हुने भएकाले हावाहुरीमा कम ढल्ने, स्वादिष्ट हुने र रोपेको करिब नौ महिनामै उत्पादन दिन सुरु गर्ने भएकाले किसानका लागि लाभदायक बनेको छ।“एक कट्ठामा करिब ८० वटा बोट लगाउन सकिन्छ,” उहाँले भन्नुभयो, “उपभोक्ताको माग राम्रो भएकाले बिक्रीको कुनै समस्या छैन।”

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा पछिल्लो समय युवा किसान व्यावसायिक केरा खेतीमा बढी सक्रिय देखिएका छन्। कम मिहिनेत र सीमित लगानीमै राम्रो आम्दानी लिन सकिने भएकाले यो खेतीप्रति आकर्षण बढेको कार्यालयको भनाइ छ।

कृषि ज्ञान केन्द्र महोत्तरीका निमित्त प्रमुख देवानन्द रायका अनुसार गौशाला, भङ्गहा र सम्सीका विभिन्न गाउँमा हाल एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा उन्नत जातको केरा खेती भइरहेको छ।

जिल्लाभर केरा खेतीको कुल क्षेत्रफल करिब तीन हजार हेक्टर रहेको उहाँले जानकारी दिनुभयो।“एक पटक लगाइएको केराले उचित काँटछाँट र रोग व्यवस्थापन पाए पाँच वर्षसम्म उत्पादन दिन सक्छ,” उहाँले भन्नुभयो।

बागवानी विकास अधिकृत अबिरल कुमार महतो कुशवाहाका अनुसार तरकारीका रूपमा प्रयोग हुने केराका लागि बत्तीसा र झपरी जात उपयुक्त मानिन्छ भने फलका रूपमा स्थानीय मालभोग अझै लोकप्रिय छ। 

तर उन्नत जातमध्ये रोवेष्ट्रा र इजी नाइन महोत्तरीको हावापानीमा राम्रोसँग फस्टाएको र बजार माग पनि बलियो रहेको उहाँ बताउनुहुन्छ।

यद्यपि, किसानले कृषि प्राविधिक सहयोग भने पर्याप्त रूपमा नपाएको गुनासो गरेका छन्। कृषि ज्ञान केन्द्र र पालिकाका कृषि शाखाहरू भए पनि नियमित अनुगमन, रोग व्यवस्थापन र प्राविधिक परामर्शमा कमजोरी रहेको किसानको भनाइ छ।

किसानले उन्नत र प्रमाणित बिरुवा उपलब्ध गराउने, आधुनिक खेती प्रविधि सिकाउने, उत्पादन भण्डारण तथा बजार व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन्। 

कृषि ज्ञान केन्द्रले भने किसानलाई आवश्यक सबै प्राविधिक सहयोग उपलब्ध गराउन कार्यालय प्रतिबद्ध रहेको जनाएको छ।