• २७ वैशाख २०८३, आइतबार

देवघाट सडकका जोखिमपूर्ण रुख हटाइँदै

blog

जोखिम पूर्ण रुख काटिँदै । तस्बिर : गोरखापत्र

अमरराज नहर्की
तनहुँ , वैशाख २७ गते ।
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जोड्ने सडकमा यात्रा सुरक्षित बनाउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न सडक क्षेत्रमा रहेका रुखहरू काट्न सुरु गरिएको छ । देवघाट क्षेत्र विकास समिति तनहुँको समन्वय र माग अनुसार सडक खण्डमा रहेका जोखिमपूर्ण सालका रुखहरू हटाउन थालिएको हो ।

डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि आँपटारी–देवघाट सडक खण्डमा पर्ने २५ वटा रुखहरू काट्न थालेको छ । देवघाट क्षेत्र विकास समितिले सडक सुरक्षाका लागि ६२ वटा रुख काट्न माग गरे पनि पहिलो चरणमा प्राविधिक मूल्याङ्कनका आधारमा बढी जोखिमयुक्त रुखहरू मात्र हटाइएको हो ।

डिभिजन वन कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले ‘वन नियमावली २०७९’ को प्रावधान अनुसार विकास निर्माण र मानवीय सुरक्षामा अवरोध पुर्‍याउने रुखहरू हटाइएको जानकारी दिनुभयो । नेपालकै प्रमुख धार्मिक केन्द्र देवघाटधाममा दैनिक हजारौँको सङ्ख्यामा तीर्थयात्री र मलामीहरूको आवतजावत हुने गर्दछ । तनहुँ र चितवन जोड्ने यस व्यस्त सडकको बीच भागमै रुखहरू रहँदा सवारी साधन चलाउन कठिन हुने र साँघुरो सडकमा दुर्घटनाको जोखिम उच्च थियो ।

पवित्र संगम स्थल देवघाटमा विशेषगरी धार्मिक उत्सव र पर्वहरूमा ठुलो भिड लाग्ने गर्दछ । सडकमा देखिएको जोखिम आंशिक रूपमा भए पनि समाधान हुँदा अब यात्रा सहज हुने देवघाट क्षेत्र विकास समितिले जनाएको छ । डिभिजन वन कार्यालयले यस अभियान अन्तर्गत अन्य जोखिमपूर्ण सडक खण्डहरूमा रहेका रुखहरू पनि हटाउने तयारी गरेको छ । समितिका अनुसार  वर्षायाम सुरु भएकाले  हावाहुरीले रुख ढलेर हुन सक्ने मानवीय र भौतिक क्षति रोक्न यस कदमले महत्व भूमिका खेल्ने छ ।