सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, वैशाख २७ गते । बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुली जिल्लाका विभिन्न भागमा रहेका परम्परागत तथा जीर्ण सिँचाइ कुलो मर्मत, पुनर्निर्माण र स्तरोन्नति गरी पक्की बनाइएपछि स्थानीय किसान उत्साहित भएका छन् ।
बर्सौंदेखि बिग्रिएका कुलो सुधार भएसँगै खेतबारीमा बाह्रै महिना सिँचाइ सुविधा पुग्न थालेपछि किसानमा खुसियाली छाएको हो । कृषि उत्पादन बढाउने उद्देश्यले प्रदेश सरकारले चालु आर्थिक वर्षमा जिल्लाभर साना तथा मध्यमस्तरका सिँचाइ योजना सञ्चालन गरिरहेको छ । परम्परागत कुलोहरूलाई ढलान गरी व्यवस्थित बनाइँदा पानी चुहावट कम हुनुका साथै खेतसम्म नियमित पानी पुग्न थालेको स्थानीय किसान बताउँछन् । हरिहरपुरगढी गाउँपालिका–२ मा बागमती प्रदेश सरकारको नौ लाख रुपियाँ सहयोगमा रतनपुर सिँचाइ कुलोको मर्मत तथा पुनर्निर्माण भर्खरै सम्पन्न भएको छ । भत्किएर जीर्ण बनेको उक्त कुलोलाई पक्की ढलान गरी निर्माण गरिएको स्थानीय किसान तथा निर्माण उपभोक्ता समितिका सचिव हेमकुमार राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त बजेटबाट १३५ मिटर लामो कुलो ढलान गरी निर्माण गरिएको छ । कुलो निर्माणपछि करिब डेढ सय बिघा खेतमा सिँचाइ सुविधा पुगेको छ । “पहिले वर्षायाममा मात्र पानी पुग्थ्यो, अहिले नियमित सिँचाइ सहज भएको छ,” उहाँले भन्नुभयो ।
त्यस्तै दुधौली नगरपालिका–११, टाँडीमा पनि परम्परागत सिँचाइ कुलोलाई स्तरोन्नति गरी पक्की कुलो निर्माण गरिएको छ । कुलो निर्माणसँगै ६५ बिघा खेतमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष पवन कार्कीका अनुसार कुलो निर्माणका लागि यस वर्ष बागमती प्रदेश सरकारले १८ लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो । सो बजेटबाट ३२५ मिटर पक्की सिँचाइ कुलो निर्माण गरिएको हो ।
उहाँले भन्नुभयो, “कमला नदीको पानी अब टाँडीका खेतमा नियमित रूपमा पुग्ने भएको छ । कुलो निर्माणसँगै करिब ७० जना किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।” पहिले जीर्ण अवस्थामा रहेको कुलोलाई स्तरोन्नति गरी व्यवस्थित ढलान गरिएको उहाँले बताउनुभयो । चैत अन्तिम सातादेखि सुरु भएको कुलो निर्माण कार्य हालै सम्पन्न भएको हो ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुलीका अनुसार चालु आव २०८२/८३ मा जिल्लाभर १९० वटा सिँचाइ योजना स्वीकृत भएका छन् । तीमध्ये १७५ वटा योजनाको सम्झौता भई निर्माण अघि बढिसकेको छ । कार्यालयका इन्जिनियर आकार श्रेष्ठका अनुसार दुई वटा योजना ठेक्का प्रव्रिmयामार्फत सञ्चालन भइरहेका छन् भने बाँकी योजना स्थानीय उपभोक्ता समितिमार्फत कार्यान्वयन भरहेका छन् । यी योजनाका लागि प्रदेश सरकारबाट २२ करोड २३ लाख ६० हजार रुपियाँ बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार गत आव २०८१/८२ मा जिल्लामा १९५ वटा सिँचाइ योजना सम्पन्न भएका थिए । ती योजनाबाट तीन हजार ७५.५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो । त्यसका लागि १९ करोड ७९ लाख ६५ हजार रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ ।
यस वर्ष सञ्चालनमा रहेका योजनामध्ये नौ लाख रुपियाँभन्दा कम लागतका ११ वटा योजना रहेका छन् भने नौ लाख रुपियाँ लागतका मात्रै १०३ वटा योजना छन् । त्यस्तै १० लाखदेखि २० लाख रुपियाँसम्म लागत भएका ५४ तथा २० लाख रुपियाँभन्दा बढी लागत भएका २२ वटा योजना सञ्चालनमा रहेका छन् ।