अर्घाखाँची समाचारदाता
अर्घाखाँची, वैशाख २७ गते । लुम्बिनी प्रदेशलाई गण्डकीसँग जोड्ने राष्ट्रिय गौरवको सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजना निर्माण सुरु भएको करिब दुई दशक पुग्न लाग्दा पनि अझै पूर्णता पाउन सकेको छैन । बजेट अभाव, सुस्त निर्माण गति र ठेकेदारको ढिलासुस्तीका कारण १९७ किलोमिटर लामो यो रणनीतिक सडक आयोजना अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।
विसं २०६५ देखि निर्माण सुरु भएको सडकको ट्र्याक सबै खण्डमा खोलिए पनि कालोपत्रे, स्तरोन्नति र पुल निर्माणको काम भने निकै पछाडि छ । आयोजना कार्यालयका अनुसार हालसम्म करिब ४४ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।
परियोजनाका प्रमुख इन्जिनियर गागलबहादुर भण्डारीले पर्याप्त बजेट नपाउँदा निर्माणले गति लिन नसकेको बताउनुभयो । उहाँका अनुसार आयोजनालाई वार्षिक एक अर्ब रुपियाँभन्दा बढी बजेट आवश्यक पर्ने भए पनि सरकारले प्रत्येक वर्ष ३०–४० करोड रुपियाँ मात्र विनियोजन गर्दै आएको छ ।
सुरुमा करिब १० अर्ब रुपियाँ अनुमान गरिएको आयोजनाको लागत अहिले बढेर झन्डै १३ अर्ब रुपियाँ पुगेको छ । निर्माण अवधि लम्बिँदै जाँदा लागत पनि निरन्तर बढ्दै गएको आयोजना कार्यालयको भनाइ छ ।
कतिपय वर्ष विनियोजनभन्दा बढी खर्च भएको छ भने कतिपय वर्ष बजेट खर्च नै हुन सकेको छैन । चालु आर्थिक वर्ष २०८२/८३ मा ४० करोड ४९ लाख रुपियाँ बजेट छुट्याइएकोमा वर्ष अन्त्यसम्म करिब ४६ करोड खर्च हुने अनुमान गरिएको छ ।
सूचना अधिकारी इन्जिनियर प्रतीक्षा पौडेलका अनुसार बजेट सुनिश्चित गर्न आयोजना कार्यालयले हरेक वर्ष विभिन्न मन्त्रालय र निकाय धाउनुपर्ने अवस्था छ । उहाँले भन्नुभयो, “बजेटको अनिश्चितताले निर्माणको तालिका नै प्रभावित भइरहेको छ ।”
हालसम्म जम्मा ३६ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ । जस अन्तर्गत रुपन्देहीमा पाँच किलोमिटर, पाल्पामा चार किलोमिटर र अर्घाखाँचीमा करिब २७ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । चालु आवभित्र थप २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।
सडकसँगै पुल निर्माणको काम पनि सुस्त गतिमै अघि बढिरहेको छ । हालसम्म सात वटा पुल निर्माण सम्पन्न भए पनि अर्घाखाँचीको दोभानखोला र बागलुङको बौलाभासेखोलामा बन्ने दुई पुल अझै प्रक्रियामै छन् । ती पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने काम भइरहेको जनाइएको छ ।
विभिन्न जिल्लामा बहुवर्षीय ठेक्का प्रणालीमार्फत निर्माण जारी रहे पनि कतिपय निर्माण कम्पनीको लापर्बाहीले आयोजना थप प्रभावित बनेको छ । हालै रुपन्देहीको सालझन्डीदेखि पाल्पाको खुर्सानेसम्मको १३ किलोमिटर सडक निर्माणको ठेक्का रद्द गरिएको छ । आव २०७७÷७८ मा मणि ओम सुगम जेभी सँग २४ करोड रुपियाँमा सम्झौता भएको उक्त खण्डमा हालसम्म करिब नौ करोड बराबरको मात्र काम सम्पन्न भएपछि ठेक्का तोडिएको हो ।
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई लुम्बिनीदेखि ढोरपाटन सिकार आरक्षसम्म जोड्ने महत्वपूर्ण पर्यटकीय मार्गका रूपमा हेरिएको छ । सडक निर्माण सम्पन्न भएमा लुम्बिनी आएका पर्यटकलाई ढोरपाटनसम्म सहज पहुँच पुग्ने र पर्यटनसँगै व्यापारिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ ।
यस सडकले रुपन्देही, पाल्पा, अर्घाखाँची र गुल्मीलाई बागलुङसँग जोड्ने भएकाले स्थानीय व्यवसायी र सरोकारवालाले सरकारले पर्याप्त बजेट सुनिश्चित गरेर निर्माणलाई तीव्रता दिनुपर्ने माग गरेका छन् ।