जनार्जन खत्री
सर्लाही, वैशाख २७ गते । लालबन्दी नगरपालिका–५ मेजरगन्ज झिरझिरेमा मधेश प्रदेश सरकारको १५ लाख रुपियाँ बजेटमा निर्माण गरिएको किरियापुत्री भवन प्रयोगमा नआउँदै जीर्ण बनेको छ ।
स्थानीयवासीका अनुसार झिरझिरेस्थित जरुवा किनारमा चार वर्षअघि निर्माण गरिएको उक्त भवन अहिले बेवारिसे अवस्थामा छ । गाउँलेहरूले यसलाई लागुऔषध सेवनकर्ताको अखडा बनेको भन्दै गुनासो गरेका छन् ।
मेजरगन्जकी गायत्री महत थापाले किरियापुत्री भवनसँगै रहेको ऐतिहासिक झिरझिरे जरुवा क्षेत्र वडा तथा नगरपालिकाको बेवास्तामा परेको बताउनुभयो । उहाँका अनुसार किरियापुत्री भवन र जरुवा क्षेत्र अहिले फोहोर फाल्ने ‘डम्पिङ साइट’ मा परिणत भएका छन् ।
ऐतिहासिक जरुवामा जथाभावी फोहोर फ्याँकिँदा प्रदूषण बढेको र किरियापुत्री भवन लागुऔषध सेवनकर्ताको जमघटस्थल बनेको विषयमा नगरपालिका कार्यालयमा डेलिगेसनमार्फत ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएको थापाले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “यस विषयमा टोल सुधार समितिमार्फत नगरपालिकामा गएर ध्यानाकर्षण गरायौँ तर आजसम्म कुनै सुनुवाइ भएको छैन ।”
स्थानीयका अनुसार भवन निर्माण भएदेखि अहिलेसम्म एकपटक पनि प्रयोगमा आएको छैन । परिवारको सदस्यको मृत्यु भएपछि १३ दिनको किरिया संस्कार गर्ने प्रयोजनका लागि निर्माण गरिएको भए पनि प्रयोगमै नआउँदै भवन जीर्ण बनेको हो ।
राज्यको बजेट फजुलमा खर्च भएको स्थानीयको गुनासो छ । भवनका झ्याल–ढोका तोडफोड गरिनुका साथै केही सामग्री चोरीसमेत भएको छ ।
लालबन्दी नगरपालिका–५ वडा कार्यालयका वडाध्यक्ष मीनप्रसाद ढुङ्गेल (रामु) ले आफू निर्वाचित हुनुअघि नै भवन निर्माण भएको र अहिले जीर्ण अवस्थामा देखिए पनि विस्तृत जानकारी नभएको बताउनुभयो । उहाँले भवनलाई अन्य प्रयोजनमा ल्याउन सकिने अवस्था पनि नरहेको उल्लेख गर्नुभयो ।
उहाँले जरुवा क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिप्रति स्थानीय पनि सचेत हुनुपर्ने बताउनुभयो ।
यस्तै, किरियापुत्री भवनसँगै रहेको झिरझिरे जरुवामा फोहोर फ्याँकिँदा त्यस पानीबाट सिँचाइ हुने लालबन्दी नगरपालिका–३ जब्दी क्षेत्रका किसान प्रभावित भएका छन् । बाह्रै महिना पानी रसाउने उक्त स्रोत अहिले फोहोरका कारण अवरुद्ध हुने अवस्थामा पुगेको किसानहरूको भनाइ छ ।
यसैगरी, बस्तीपुर जरुवापानी क्षेत्र पनि संरक्षण अभावमा फोहोर फाल्ने स्थान र लागुऔषध दुर्व्यसनीको थलो बनेको स्थानीयले बताएका छन् ।
जरुवापानी मुहान संरक्षण समितिका अध्यक्ष केशव पोखरेलले एकान्त क्षेत्र भएकाले संरक्षणमा कठिनाइ भइरहेको बताउनुभयो । रातको समयमा स्थानीयले नै फोहोर फ्याँक्ने तथा लागुऔषध सेवनकर्ताले तोडफोड गर्ने गरेकाले समस्या बढेको उहाँको भनाइ छ ।