• २७ वैशाख २०८३, आइतबार

नवग्रह मन्दिरले बदल्दै स्याङ्जाको पर्यटकीय पहिचान

blog

अर्जुनचौपारी गाउँपालिका–१ मा निर्माण गरिएको देशकै पहिलो नवग्रह मन्दिरमा दर्शनार्थी । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २७ गते ।
सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पोखरा जाने वा पोखराबाट सुनौलीतर्फ यात्रा गर्ने अधिकांश यात्रुका लागि स्याङ्जा लामो समयसम्म गाडीको झ्यालबाट हेरिने जिल्ला मात्र थियो ।

पर्यटकहरू पोखराबाट सिधै मुक्तिनाथ मन्दिर, बागलुङ कालिका मन्दिर, मनकामना मन्दिर, कुश्मा, बन्दीपुर वा मनाङतर्फ लाग्ने गरेका थिए ।

पर्यटकको पाइला बिरलै रोकिने स्याङ्जाको ‘ट्रान्जिट’ पहिचान अहिले बदलिन थालेको छ । अर्जुनचौपारी गाउँपालिका–१ जलबराह धार्मिक वनमा नेपालकै पहिलो नवग्रह मन्दिर निर्माण भएपछि स्याङ्जा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेको हो ।

मन्दिर दर्शनका लागि पुग्नुभएकी पोखरा महानगरपालिका–२७ निवासी ६८ वर्षीया मैयादेवी लामिछानेले यही बाटो हुँदै बुटवल–पोखरा आउजाउ गरे पनि स्याङ्जामा रोकिनुपर्ने कारण कहिल्यै नभेटेको बताउनुभयो । नवग्रह मन्दिरकै कारण पहिलो पटक स्याङ्जाको भित्री गाउँसम्म आएको उहाँको भनाइ छ ।

“मङ्सिरदेखि नवग्रह दर्शन गर्ने इच्छा थियो, बल्ल आउन पाएँ । अब समय मिलाएर आइरहन्छु,” उहाँले भन्नुभयो ।

यसअघि स्याङ्जालाई बेवास्ता गर्दै अगाडि बढ्ने लामिछानेजस्ता हजारौँ भक्तजन अहिले नवग्रह मन्दिरको दर्शन नगरी यात्रा अधुरो ठान्न थालेका छन् । यहाँ प्रत्येक शनिबार हजारौँ भक्तजनको उपस्थिति हुने गरेको छ भने मेला तथा पर्वका अवसरमा भक्तजनको संख्या अत्यधिक हुने गरेको छ ।

नवग्रह मन्दिर निर्माणसँगै मुक्तिनाथ, बागलुङ कालिका र मनकामना जाने धार्मिक पर्यटकहरूले पनि आफ्नो यात्राको तालिकामा स्याङ्जालाई समावेश गर्न थालेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो ।

अध्यक्ष तिवारीको परिकल्पनाले वर्षौँदेखि ‘बाटोको जिल्ला’ भनेर चिनिएको स्याङ्जालाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थालेको स्थानीयवासीको भनाइ छ ।

नवग्रह मन्दिर बनेपछि पर्यटकको आगमनसँगै अर्जुनचौपारी र आसपासका क्षेत्रमा आर्थिक गतिविधि बढेको स्थानीय होटल व्यवसायी संजय ढकालले बताउनुभयो । राजमार्ग तथा मन्दिर जाने सडक किनारका पसल, होटल र रेस्टुरेन्टमा ग्राहकको चाप बढेको छ भने स्थानीय किसानले उत्पादन गरेका अर्गानिक तरकारी, फलफूल तथा हस्तकलाका सामग्रीले बजार पाउन थालेका छन् ।

स्थानीयका अनुसार स्याङ्जाले अब ‘बाटोको जिल्ला’ मात्र नभई ‘नवग्रहको जिल्ला’ का रूपमा नयाँ पहिचान पाएको छ । पोखरा केन्द्रित पर्यटनलाई उत्तरतर्फ मात्र नभई स्याङ्जाका गाउँसम्म विस्तार गर्न नवग्रह मन्दिर ‘गेम चेन्जर’ सावित भएको अध्यक्ष तिवारीले बताउनुभयो ।

सिद्धार्थ राजमार्गको पर्याप्त लाभ लिन नसकेको स्याङ्जाका लागि यो मन्दिर आस्थाको केन्द्र मात्र नभई ओझेलमा परेको सांस्कृतिक तथा धार्मिक विरासत उजागर गर्ने आधार बनेको छ ।

कस्तो छ नवग्रह मन्दिर ?
आठ हेक्टर क्षेत्रफलमा फैलिएको जलबराह धार्मिक वनभित्र नवभुजाकारको २७ फिट अग्लो नवग्रह मन्दिर निर्माण गरिएको छ । मन्दिरको माथिल्लो भागमा सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ । यहाँ स्थापित मूर्तिहरू हिन्दू धर्मका ज्योतिषाचार्यको निर्देशनमा नर्मदा नदीको शिलाबाट भारतमा निर्माण गरिएको जनाइएको छ ।

मन्दिरको पिलरमा सूर्य, शुक्र, केतु, चन्द्र, मङ्गल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएका छन् । नौवटा भुजामा ग्रहअनुसारका रङ प्रयोग गरिएको छ ।

नवग्रह मन्दिरसँगै षट्कोण शिवालय निर्माण गरिएको छ । शिवालयको बीचमा सात क्विन्टल तौलको पशुपतिनाथ शैलीको पञ्चमुखी शिवलिङ्ग राखिएको छ भने विभिन्न कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव र हनुमानका मूर्ति स्थापना गरिएका छन् ।

यहाँ भक्तजनले गणेश, कुलदेवता र इष्टदेवताको पूजा गरी पञ्चमुखी शिवलिङ्गको परिक्रमा गर्ने तथा त्यसपछि हनुमान, लक्ष्मी र कालभैरवको पूजा गरेर बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।

शिवालय दर्शनपछि करिब तीन सय मिटर दूरीमा रहेको पञ्चकन्या मन्दिर पुगेर पूजा गर्ने तथा त्यसपछि नवग्रह मन्दिरमा परिक्रमा गरी सुरुङमार्गबाट बाहिर निस्कने संरचना तयार गरिएको छ ।

मन्दिर परिसरमा नवग्रह यन्त्र, शिवयन्त्र र मण्डला निर्माण गरिएको छ । विवाह समारोहका लागि भने नजिकै रहेको राधाकृष्ण मन्दिरको मर्मत गरिएको छ ।

पालिकाका अनुसार सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति प्रत्येक वर्ष गणेश चतुर्थीका दिन मात्र अवलोकन गर्न पाइनेछ । सो दिन गाउँपालिकाले सार्वजनिक बिदासमेत दिने जनाएको छ ।

षट्कोण, नवग्रह परिसर तथा पदमार्ग स्थानीय ढुङ्गा बिछ्याएर कलात्मक बनाइएको छ भने दुबो रोपेर हरियाली र सौन्दर्य थपिएको छ ।