खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), वैशाख २७ गते । दुर्गम दार्चुलाको दुम्लिङगाउँमा नेपाली सेनाले गाडी पु¥याएको छ । दार्चुला–तिङ्कर सडक अन्तर्गतको तुषारपानी–कोठेधार–तिङ्कर सडक निर्माण गरिरहेको सेनाले चालु आर्थिक वर्ष २०८२/८३ मा व्यास गाउँपालिका–२ कल्जुसम्म ट्र्याक खोलिएकोमा दुम्लिङसम्म गाडी चल्ने भएको छ ।
तुसारपानीदेखि दुम्लिङसम्मको १.४ किलोमिटर सडकको स्तरोन्नति गरेपछि दुर्गम दुम्लिङ गाउँसम्म गाडी पु¥याउन सफल भएको दार्चुला–तिङ्कर सडक आयोजनाका आयोजना प्रमुख एवं प्रमुख सेनानी राजेश कट्वालले जानकारी दिनुभयो । सडकको शून्यविन्दु तुषारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक शनिबार एक कार्यक्रमबिच गाडी गुडाएर उद्घाटन गरिएको छ । स्थानीय जनप्रतिनिधि, सरोकारवालाको उपस्थितिमा दुम्लिङ गाउँमा गाडी पु¥याएर उद्घाटन गरिएको उहाँले बताउनुभयो ।
गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयवासीले गाडी, नेपाली सेना र जनप्रतिधिलाई फूलमालाले स्वागत गरेका छन् । साथै स्थानीयले सडक नियमित रूपमा सञ्चालनका लागि आग्रहसमेत गरेका छन् । स्थानीय कौशिला बुढाथोकीले ग्रामीणबस्तीमा सडक पुगेपछि आफ्नो सङ्घर्षपूर्ण जीवन केही सहज भएको बताउनुभयो । स्थानीय ह्यात बुढाथोकी पनि पहिलो पटक गाडी पुगेपछि खुसी हुनुभएको छ । विगतदेखि भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको पनि उहाँले बताउनुभयो । गाउँमा गाडी पुगेपछि मल्लो दुम्लिङका स्थानीय पूर्णिमा बुढाथोकीले दैनिक उपभोग्य सामानदेखि निर्माण सामग्री ढुवानी गर्न सहज भएको बताउनुभयो ।
तुषारपानीदेखि तिङ्करसम्मको कुल ७९ किलोमिटरमध्ये गत आव २०८१/८२ सम्म २२.१५ किलोमिटर सडकको ट्र्याक खोलिसेकेको नेपाली सेनाले दुम्लिङसम्म गाडी गुड्ने सडक निर्माण गरेको छ । आव २०७७/७८ देखि नेपाली सेनाले निर्माण गरिरहेको सडक निर्माणमा आव २०८१/८२ सम्म तीन अर्ब ७४ करोड रुपियाँ खर्च भएको उहाँले बताउनुभयो । चालु आवमा तत्कालीन सरकारले सडक निर्माणमा एक करोड तथा मेसनरी औजार खरिद र घर निर्माणमा पाँच करोड ३१ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । अन्य शीर्षकमा रहेको पाँच करोड रुपियाँमध्ये वर्तमान सरकारले चार करोड रुपियाँ सडक निर्माणमा रकमान्तर गरेपछि नेपाली सेनाले दुम्लिङसम्म गाडी पु¥याएको हो ।
आव २०७७/७८ देखि यो सडकलाई नेपाली सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले चालु आवमा छाङ्रुबाट तल एक किलोमिटर सडकको नयाँ ट्र्याक खोलेको पनि आयोजना प्रमुख एवं प्रमुख सेनानी कटवालले बताउनुभयो ।