• २७ वैशाख २०८३, आइतबार

आफ्नै भवनबाट ट्राफिक प्रहरीको सेवा सुरु

blog

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको नवनिर्मित भवन । तस्बिर : ज्ञानु पंगेनी

ज्ञानु पंगेनी
मध्यविन्दु, वैशाख २७ गते ।
लामो समयदेखि भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अब आफ्नै सुविधासम्पन्न नयाँ भवनबाट सेवा दिने भएको छ । कावासोती नगरपालिका–८ थानाचोकस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा चारतले भवन निर्माण सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकारको सहयोगमा निर्माण भएको उक्त भवनबाट आउँदो सोमबारदेखि सेवा सञ्चालन गर्ने तयारी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कुशलकुमार वर्तोलाले जानकारी दिनुभयो ।

“सामान सार्ने काम भइरहेको छ । आइतबारसम्म नयाँ कार्यालय सेटअप पूरा गरी सोमबारदेखि नयाँ भवनबाट सेवा दिने तयारीमा छौँ,” उहाँले भन्नुभयो ।

प्रदेश सरकारको ३ करोड २ लाख १२ हजार ६७६ रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९इन्जिनियर० चिरञ्जीवी प्रताप महतोले जानकारी दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको प्राविधिक रेखदेखमा निर्माण सम्पन्न भएको भवनको ठेक्का सपना सुन्दरी कन्स्ट्रक्सन प्रा।लि।ले लिएको थियो ।

१८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समयमै काम सम्पन्न गरी भवन हस्तान्तरण गरिएको इन्जिनियर महतोले बताउनुभयो ।

सुविधायुक्त उक्त भवनको भुइँतलामा दर्ता–चलानी, सेवाग्राही अभिलेख कक्ष र प्रशासन शाखा रहेका छन् । पहिलो तलामा कार्यालय प्रमुख कक्ष, सीसीटीभी कन्ट्रोल रुम र लेखा शाखा रहेको छ । दोस्रो तलामा महिला ब्यारेक, तेस्रो तलामा जवान ब्यारेक र चौथो तलामा कार्यालय प्रमुखको निवास व्यवस्था गरिएको छ ।

२०८१ साल भदौमा तत्कालीन जिल्ला ट्राफिक प्रहरी निरीक्षक अच्युतराज आचार्यले शिलान्यास गर्नुभएको उक्त भवनको वैशाख १९ गते प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उद्घाटन गर्नुभएको हो ।