• २७ वैशाख २०८३, आइतबार

खजुरामा आजदेखि प्रथम अशोक स्मृति कप फुटबल सुरु हुँदै

blog

धम्बोझी, वैशाख २७ गते । प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता आइतबारदेखि खजुरा गाउँपालिकामा सुरु हुँदैछ । स्थानीय खेलाडीलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको प्रतियोगिताको तयारी पूरा भएको आयोजक श्री द फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक संघ बाँकेले जनाएको छ ।

सुन्दर विहानी युवा क्लब, जानकी गाउँपालिका–४ को सह–आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा न्यु डाँफे स्पोर्ट्स क्लब र कालिका युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । जेठ ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।

खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रंगशालामा हुने प्रतियोगिताको विजेता टिमले ५१ हजार रुपियाँ, उपविजेताले ३१ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष कृष्णलाल गिरीले जानकारी दिनुभयो ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपियाँ, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिताको प्रथम पुरस्कार रकम ५१ हजार रुपियाँ खजुरा गाउँपालिका–४ निवासी हाल अमेरिकामा रहनुभएका समाजसेवी तथा खेलप्रेमी लीलबहादुर थापाले प्रायोजन गर्नुभएको प्रतियोगिता संयोजक तथा खजुरा गाउँपालिका–४ का निवर्तमान वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी दिनुभयो ।

यसैगरी, प्रतियोगिताको मुख्य प्रायोजन स्व। अशोक विकका भाइ तथा एलिसा ज्वेलर्सका सञ्चालक खजुरा गाउँपालिका–४ निवासी हरि प्रकाश विकले गर्नुभएको आयोजकले जनाएको छ ।

स्थानीय खेलाडीलाई अवसर प्रदान गर्दै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगितामा कालिका युवा क्लब, न्यु डाँफे स्पोर्ट्स क्लब, मोडेल एफसी, धम्बोझी एफसी, न्यु दर्पण स्पोर्ट्स क्लब, ब्रदर्स एफसी, सिमलघारी, चन्द्रज्योति, खजुरा–११ (आयोजक), योगिनी युवा क्लब, बागमती युवा क्लब र महिन्द्र दल गण भूपू टिमको सहभागिता रहनेछ ।