• २७ वैशाख २०८३, आइतबार

ट्याक खुलेको २४ वर्षपछि रायडाँडा जोड्ने सडक कालोपत्र

blog

डोठेआहाल–रामतोला–कुश्मी सडकको भकुण्डे खण्डमा कालोपत्र गरिँदै । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, वैशाख २७ गते ।
भौगोलिक विकटताका कारण बागलुङ नगरपालिका–११ को रायडाँडालाई जोड्ने डोठेआहाल–रामतोला–कुश्मी सडकअन्तर्गत भकुण्डे खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ ।

यो सडकको ट्याक खुलेको २४ वर्षपछि बागलुङ नगरपालिका–१० भकुण्डेको डोठेआहाल खण्डमा कालोपत्र हुन लागेको हो । २०५८ सालमा ट्याक खुलेर तित्याङ, भकुण्डे हुँदै रायडाँडासम्म सडक पुगेको थियो ।

सडक डिभिजन कार्यालय बागलुङका अनुसार संघीय सरकारको बजेटबाट सडक कालोपत्र गर्न लागिएको हो । २०८३ जेठ २५ गतेभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनी हिल साइड पीके जेभीले २०८२ वैशाख २१ गते २ करोड ९५ लाख रुपियाँमा ठेक्का सम्झौता गरी कालोपत्रको काम सुरु गरेको हो ।

“यो सडकको भकुण्डे खण्डमा स्तरोन्नतिसहित एक किलोमिटर सडक ७ मिटर चौडाइमा प्रिमिक्स प्रविधिको कालोपत्र हुनेछ,” सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद लामिछानेले बताउनुभयो ।

“निरन्तर वर्षा, कालोपत्रमा प्रयोग हुने बिटुमिनको अभाव र मूल्यवृद्धिले असर गरे पनि काम निर्धारित समयमा सकिन्छ,” निर्माण कम्पनीका प्रतिनिधि दल श्रीसले भन्नुभयो । उहाँका अनुसार सडक चौडा पार्ने, पर्खाल लगाउने र ग्याबियन जाली भर्ने काम सकिएकाले अहिले कालोपत्रको काम तीव्र गतिमा भइरहेको छ ।

रायडाँडामा सडक पुगे पनि जीर्ण अवस्थामा रहेकाले स्थानीयवासीले लामो समयदेखि सास्ती भोग्दै आएका थिए । “यो सडक कालोपत्र भएपछि यात्रा निकै सहज हुनेछ,” बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयो ।

लामो समय रोकिएको सडक विस्तारको काम स्थानीय तहमा जनप्रतिनिधि आएपछि मात्र अघि बढेको उहाँको भनाइ छ । कालोपत्र भएपछि स्थानीयलाई आवतजावत र कृषि उपज बजारसम्म पु¥याउन सहज हुने अपेक्षा गरिएको छ ।

डोठेआहाल–रामतोला–कुश्मी सडकको कुल लम्बाइ करिब आठ किलोमिटर रहेको छ । बहुवर्षीय योजना भएकाले हरेक वर्ष बजेट विनियोजनसँगै रायडाँडाको रामतोला हुँदै कुश्मीसम्म कालोपत्र विस्तार हुने अपेक्षा गरिएको वडा अध्यक्ष गौतमले बताउनुभयो ।

नगरपालिकाले रायडाँडाको भौगोलिक कठिनाइलाई ध्यानमा राख्दै यस क्षेत्रलाई विशेष क्षेत्रका रूपमा सूचीकृत गरेको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठका अनुसार विशेष क्षेत्र भएकाले पूर्वाधार निर्माण र स्रोत साधन बाँडफाँडमा प्राथमिकता दिइएको छ ।

रायडाँडामा फलाम र तामाखानी रहेको अनुमान गरिएको छ । ती खानी सञ्चालनका लागि यातायात पहुँच आवश्यक भएकाले सडक पूर्वाधारमा लगानी गरिएको हो । विदेशी कम्पनीले समेत रायडाँडाका खानीको अध्ययन गरी उत्खनन सम्भावना रहेको बताएको जनाइएको छ ।