काठमाडौँ, वैशाख २८ गते । सरकारले शिक्षा क्षेत्रलाई सुधार र समृद्धिको आधारका रूपमा स्थापित गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो । उहाँले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने बताउनु भयो ।
साथै पाठ्यक्रमलाई समयसापेक्ष बनाउँदै विद्यालय शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र रोजगारमुखी बनाइने बताउनुभयो ।
उहाँले सार्वजनिक शिक्षामा दीर्घकालीन लगानी वृद्धि गर्ने तथा तथा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थालाई सेवामुखी र गुणस्तरकेन्द्रित बनाउन आवश्यकताअनुसार नियमन गरिने बताउनुभयो ।
नयाँ शिक्षा योजनाअन्तर्गत इलर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सिकाइ प्रणाली विस्तार गरिने भएको बताउनुभयो ।
उच्च शिक्षालाई श्रम बजारसँग जोड्ने रणनीतिअनुसार विश्वविद्यालयहरूको प्राज्ञिक तथा शासकीय पुनर्संरचना सरकारको नीति रहेको समेत उहाँले बताउनुभयो ।
उहाँले विद्यालय नक्साङ्कन, समायोजन, शिक्षक दरबन्दी मिलान, पुस्तकालय र प्रयोगशाला सुधारलाई एकीकृत योजनामार्फत कार्यान्वयन गरिने बताउनुभयो ।