पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख २८ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासी खण्डमा सडक सीमा मिचेर बनाइएका अवैध संरचनाहरू हटाउन सुरु गरिएको छ । बर्दघाट नगरपालिकाले राजमार्गको दायाँ–बायाँ ८२ फिटभित्र पर्ने अस्थायी तथा स्थायी प्रकृतीका संरचनाहरू हटाउने अभियान तीव्र पारेको हो।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सडकको क्षेत्राधिकार खाली गराउनु नगरको प्राथमिकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘‘राजमार्गको ८२ फिटभित्र रहेका जुनसुकै प्रकृतिका अवैध संरचनाहरू हटाउन हामीले सुरु गरिसकेका छौँ । यो नगरको सुन्दरता, सडक सुरक्षा र व्यवस्थित सहरीकरणका लागि अनिवार्य छ । हामीले पटक–पटक सूचना जारी गरेर नागरिकहरूलाई आफैँ हटाउन आग्रह गरेका थियौँ । केहीले हटाउनुभयो, केहीले अटेर गरेपछि अहिले नगरपालिका आफैँ अग्रसर हुनुपरेको हो । विकासको काममा सबैको सहयोग आवश्यक छ।’’
लामो समयदेखि सडक अतिक्रमण गरी निर्माण गरिएका घर, टहरा र व्यावसायिक संरचनाका कारण सडक विस्तार र ट्राफिक व्यवस्थापनमा समस्या परेपछि नगरपालिकाले कडाइका साथ यो कदम चालेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले कानुनी प्रक्रिया पूरा गरेर नै डोजर चलाइएको स्पष्ट पार्नुभयो। उहाँका अनुसार सडक विभागको मापदण्ड र स्थानीय सरकारको निर्णयअनुसार सडकको बीच भागबाट दुवैतर्फ ८२ फिटको क्षेत्र सडककै नाममा हुन्छ । सो क्षेत्रभित्र बनाइएका संरचनाहरू पूर्णतः अवैध हुन् । अहिले सडकको क्षेत्राधिकार मिचिएका ठाउँहरू खाली गराउने काम भइरहेको छ। कानुनको पालना गराउने क्रममा कसैलाई विभेद नगरी सबै अवैध संरचनाहरू हटाइनेछ।
राजमार्ग अतिक्रमण गरेर बनाइएका संरचनाका कारण सवारी चालकहरूको दृष्टि मा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने गरेको प्राविधिकहरूको भनाइ छ । यो अभियानले सडक फराकिलो देखिने र सवारी आवागमन सहज हुने विश्वास लिइएको छ।
नगरपालिकाले यो अभियानलाई निरन्तरता दिने जनाएको छ। सडक सीमा खाली गराइएपछि सो क्षेत्रमा वृक्षारोपण गर्ने वा पैदलयात्री मैत्री पूर्वाधार बनाउने योजना समेत नगरको रहेको छ।