पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, बैशाख २८ गते । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा १० का महिलाहरू पछिल्लो समय मौलिक वाद्यवादनतर्फ आकर्षित भएका छन् । महिलाहरूको सांगीतिक प्रतिभा प्रस्फुटन गराउँदै कला र संस्कृति संरक्षणमा जोड्ने उद्देश्यले आयोजना गरिएको १५ दिने मादल तथा हार्मोनियम बजाउने तालिम पश्चात् उनीहरूमा यो उत्साह देखिएको हो।
बर्दघाट नगरपालिका वडा १० को आर्थिक सहयोग तथा पञ्चनगर सामुदायिक विकास केन्द्रको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो । महिलाहरूलाई केवल घरभित्र सीमित नराखी उहाँहरूलाई कला, संस्कृति र सिपसँग जोड्न यस्ता कार्यक्रमहरू अत्यन्तै प्रभावकारी हुन्छन्। सहभागी अधिकांश महिलाले पहिलो पटक वाद्यवादन सिक्ने अवसर पाएको बताएका छन्।
दैनिक घरायसी जिम्मेवारीका बाबजुद समय निकालेर तालिममा सहभागी भएका उहाँहरूले अब धार्मिक अनुष्ठान, भजन(कीर्तन र सामाजिक कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी हुन सक्ने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका छन्।
वडा अध्यक्ष राजु मिश्रका अनुसार महिलाहरूलाई केवल घरभित्रको जिम्मेवारी र चौघेरामा मात्र सीमित राख्नु हुँदैन। उनीहरूलाई कला, संस्कृति र सीपसँग जोड्न सकियो भने मात्र समाजको वास्तविक विकास हुन्छ । यो तालिमले महिलाहरूमा लुकेर रहेको सांगीतिक प्रतिभालाई बाहिर ल्याउने अवसर दिएको छ ।
मिश्रका अनुसार हाम्रा दिदीबहिनीहरूले भजन–कीर्तन र सामाजिक कार्यक्रमहरूमा आफैँ वाद्यवादन बजाएर नेतृत्व लिन सक्ने आत्मविश्वास बटुल्नुभएको छ, यो नै हाम्रो लागि ठुलो उपलब्धि हो । संगीतले समाजमा सकारात्मक ऊर्जा र सद्भाव फैलाउँछ। त्यसैले, स्थानीयस्तरमा कला–संस्कृतिको जगेर्ना र महिलाहरूको क्षमता विकासका लागि वडा कार्यालयले आगामी दिनमा पनि यस्ता प्रभावकारी कार्यक्रमहरूलाई प्राथमिकताका साथ निरन्तरता दिनेछ।
प्रशिक्षक लोक मिजारका अनुसार तालिम अवधिभर सहभागीहरूलाई वाद्यवादनका आधारभूत सीप, ताल–लय, स्वर अभ्यास र सांगीतिक प्रस्तुतिबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो । पञ्चनगर सामुदायिक विकास केन्द्रले आगामी दिनमा पनि समुदायका महिला तथा युवाहरूलाई लक्षित गरी क्षमता विकास र सामाजिक–सांस्कृतिक संरक्षणका कार्यक्रमहरू निरन्तर अगाडि बढाउने जनाएको छ।
संगीतले समाजमा सकारात्मक ऊर्जा, सद्भाव र आत्मीयता फैलाउने विश्वासका साथ यस्ता कार्यक्रमलाई प्राथमिकता दिइएको हो। बर्दघाटसँगै छिमेकी नगरपालिका सुनवलमा पनि महिलालाई मादल बजाउने प्रारम्भिक तालिम दिइएको छ, जसले जिल्लाभर नै सांस्कृतिक जागरणको नयाँ सन्देश दिएको छ।