• २८ वैशाख २०८३, सोमबार

स्वास्थ्य बिमालाई जनमैत्री बनाउने तयारीमा सरकार : मन्त्री मेहता

blog

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले सोमबार वीर अस्पतालमा आयोजित ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भ कार्यक्रममा बोल्नुहुँदै । तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौँ, वैशाख २८ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बिमामा देखिएका समस्या समाधान गरी त्यसलाई व्यवस्थित र जनमैत्री बनाउने तयारी भइरहेको बताउनुभएको छ ।

सोमबार वीर अस्पतालमा आयोजित ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भ कार्यक्रममा उहाँले स्वास्थ्य बिमामा रहेका जटिलता हटाएर सरल र प्रभावकारी बनाउने विषयमा मन्त्रालयले गहन गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना अन्तिम चरणमा पुगेको छ । सरकारले चाँडै नै नागरिकलाई सहज हुने गरी नयाँ व्यवस्था सार्वजनिक गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।

मन्त्री मेहताले भन्नुभयो, “स्वास्थ्य बिमामा केही पेचिला समस्या छन् । यसलाई कसरी सहजीकरण गर्न सकिन्छ र जनमैत्री बनाउन सकिन्छ भनेर हामी गहन छलफल गरिरहेका छौँ । काम भइरहेको छ, चाँडै नै नयाँ व्यवस्था सार्वजनिक हुन्छ ।” हाल स्वास्थ्य बिमा कार्यक्रममा सेवा प्रवाह, दाबी भुक्तानी तथा नागरिक पहुँचसम्बन्धी विभिन्न गुनासा उठिरहेका छन् ।