• २८ वैशाख २०८३, सोमबार

एकसाथ आइसिटी सिक्दै क्याम्पसका गुरु र चेला

blog

तालिममा सहभागी गुरु र चेला प्रशिक्षार्थी । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

राजविराज, वैशाख २८ गते । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै शैक्षिक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) को आवश्यकता तीव्र बन्दै गइरहेका बेला सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको पाँच दिने आइसिटी तालिम सम्पन्न भएको छ ।

 क्याम्पसको रिसर्च म्यानेजमेन्ट सेल (आरएमसी)को आयोजनामा तथा युनिभर्सिटी ग्रान्ट्स कमिसनको सहयोगमा सञ्चालन गरिएको तालिमले सहभागी क्याम्पसका शिक्षक तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने प्रयास गरेको आयोजकले जनाएको छ ।

पाँच दिनसम्म सञ्चालन गरिएको तालिममा क्याम्पसका १५ जना प्राध्यापक तथा विज्ञान, शिक्षा र व्यवस्थापन सङ्कायका स्नातक तह अन्तिम वर्षका ३५ जना विद्यार्थी गरी ५० जनाको सहभागिता रहेको प्राध्यापक रणधीर कर्णले जानकारी दिनुभयो।

तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई), गुगल टुल्स, गुगल सिट, डक्स, मिट, क्लासरुम, क्यालेन्डर, वेबसाइट सञ्चालन, रिसर्च कार्य, गुगलमा आर्टिकल प्रकाशन, साइबर सुरक्षा, थेसिस लेखन सामग्री तयारी तथा प्रस्तावना लेखन लगायतका विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

तालिममा प्रशिक्षक प्राडा. रामप्रसाद खतिवडा र डा. विजयलाल प्रधानले अहिलेको समयमा अध्ययन र अनुसन्धानलाई प्रविधिमैत्री बनाउन आइसिटी ज्ञान अपरिहार्य भइसकेको धारणा राख्नुभयो ।

उहाँहरूले प्रविधिको सही प्रयोगले विद्यार्थीको अध्ययन शैली, अनुसन्धान क्षमता तथा अध्यापन प्रणालीलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सुशीलकुमार कर्णले तालिमबाट प्राप्त ज्ञानलाई प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा उतार्न आग्रह गर्नुभयो । 

उहाँले सिकेका क्षमता, दक्षता र योग्यताको परीक्षण अहिले समाज र शैक्षिक क्षेत्रमै भइरहेको उल्लेख गर्दै अनुसन्धान, अध्यापन तथा दैनिक जीवनमा समेत प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले परम्परागत शिक्षण पद्धतिलाई समयअनुसार रूपान्तरण गर्न नसके शैक्षिक संस्था पछाडि पर्ने खतरा रहेको बताउँदै शिक्षक र विद्यार्थी दुवै प्रविधिसँग अभ्यस्त हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । “अबको शिक्षा प्रणाली किताबमा सीमित छैन, डिजिटल माध्यममार्फत विश्वसँग जोडिने समय आएको छ,” उहाँले भन्नुभयो ।

आइतबार आयोजित समापन कार्यक्रममा प्राध्यापकहरू यसबन्त झा, रितनारायण साह, उमेश यादव, रामसफल यादव, अनिलकुमार मण्डल लगायतले तालिमले शैक्षिक तथा व्यावहारिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । 

वक्ताले अनुसन्धानमुखी शिक्षा, डिजिटल सामग्री निर्माण तथा साइबर सुरक्षासम्बन्धी ज्ञान अहिलेको आवश्यकता भएको उल्लेख गरेका थिए । सहभागी विद्यार्थीले पनि तालिमबाट आफूहरूलाई अध्ययन, प्रस्तुतीकरण, अनुसन्धान तथा भविष्यको पेसागत जीवनमा उपयोगी हुने व्यावहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् । 

विशेषगरी एआई तथा गुगलका विभिन्न डिजिटल प्लेटफर्मको प्रयोगले अध्ययनलाई सहज र व्यवस्थित बनाउन सहयोग पुगेको उनीहरूको भनाइ थियो ।

क्याम्पसले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री तथा अनुसन्धानमुखी तालिमलाई निरन्तरता दिने जनाएको छ ।