गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २८ गते । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले सरकारको पछिल्लो कदमविरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ । संसद् बैठकमा आज विशेष समयमा बोल्दै उहाँहरूले सो आक्रोश व्यक्त गर्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले आफू कार्यक्रममा भाग लिन स्वीट्जरल्यान्ड गएको भए पनि सुटुक्क भागेको भनेर एक पत्रिकाले समाचार लेखेकोप्रति दुःख व्यक्त गर्नुभयो । आफूले त्यस्तो अनुचित काम गरेको भए प्रमाणित गर्न उहाँले चुनौती दिनुभयो ।
व्यक्तिगत स्वाभिमानमाथि आक्रमण भएको बताउँदै उहाँले स्वस्थ पत्रकारिता गर्न आग्रह गर्नुभयो । प्रेस काउन्सिललाई सशक्त बनाउन आग्रह गर्दै उहाँले सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेसका सांसद निस्कल राईले सरकारले अध्यादेशबाट शासन चलाउन खोज्नु गलत भएको बताउनुभयो । दुई तिहाई बहुमत भएको सरकारले संसद छलेर अध्यादेशमार्फत अघि बढ्न खोज्नु नै गलत अभ्यास भएको उहाँले बताउनुभयो ।
नेकपा (एमाले)का सांसद पद्माकुमारी अर्यालले संसद बैठक स्थगित गरेर अध्यादेश ल्याउने काम गलत भएको बताउनुभयो । बहुमतको निरंकुशताको सङ्केत आफूहरूलाई भएको उहाँले बताउनुभयो । सरकारको निर्णयले शक्ति पृथकीकरण सिद्धान्तको धज्जी उडाएको टिप्पणी गर्नुभयो । लोकतन्त्रको प्राण भनेको नागरिकहरु सङ्गठित हुन पाउने अधिकार भए पनि कर्मचारी र विद्यार्थी सङ्गठन खारेजले गम्भीर आशङ्का उब्जाएको बताउनुभयो । सरकार नियन्त्रित तानाशाहतर्फको यात्रामा रहेको उहाँले आरोप लगाउनुभयो ।
सांसद युवराज दुलालले सरकारले डोजर आतङ्क मच्चाएर नागरिकहरूलाई समस्यामा पारेको बताउनुभयो । अध्यादेशबाट देश चलाउने सपना सरकारले देखिरहेको बताउँदै उहाँले दुई तिहाइ बहुमतलाई त्यसले गिज्याएको टिप्पणी गर्नुभयो । प्रधान न्यायाधीश नियुक्ती प्रक्रियामा सरकारले गलत निर्णय गरेको उहाँले आरोप लगाउनुभयो । त्यो कदम निरंकुशता तर्फको सङ्केत भएको उहाँले बताउनुभयो ।
श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सुकुमवासी बस्तीमा डोजर चलाएर गलत काम गरेको बताउँदै उहाँले गरिबलाई रुवाएर सरकार चलाउनु गलत अभ्यास भएको बताउनुभयो । विधि तिथी मिचेर सरकारले अध्यादेश ल्याएर गलत अभ्यासमा लागेको बताउँदै उहाँले लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको उहाँले टिप्पणी गर्नुभयो । संवैधानिक परिषदमा ३ जना भएर बहुमत हुने अभ्यास त्रुटिपूर्ण रहेको बताउँदै उहाँले सरकारले त्यसको जवाफ दिनुपर्ने उहाँले माग गर्नुभयो ।
बजेट बनाउँदा प्रतिपक्षी दलहरूसँग छलफल गर्न माग गर्दै उहाँले एकलौटी रास्वपाले बजेट बनाउँदा राष्ट्रिय बजेट हुन नसक्ने उहाँले बताउनुभयो । सय रुपियाँको सामान ल्याउँदा भन्सार लगाउने सरकारले जनताको पक्षमा दिने राहतबारे प्रष्ट पार्न उहाँले सरकारसँग माग गर्नुभयो ।
राप्रपाका सांसद खुश्बु ओलीले सुकुमवासी बस्तीको व्यवस्थापन गर्न माग गर्नुभयो । गरिबको टहरा भत्काएर सरकारले गलत काम गरेको बताउँदै उहाँले सरकार सामान्य मानिसबाट टाढा रहेको सन्देश गएको उहाँले बताउनुभयो । ‘मानिसको जीवन ठुलो हो, सिंहदरवार त संयौ बनाउन सकिन्छ, खोला किनारका मानिसको जीवन हो कि होइन ?’ उहाँले जिज्ञासा गर्नुभयो ।
४८ घण्टाको समेत समय नदिएर डोजर लगाइनु गलत भएको बताउँदै उहाँले काठमाडौँमा ४८ घण्टामा कोठा खोजेर नपाउने कुरा पनि सरकारले बुझ्नुपर्ने बताउनुभयो । सुकुमवासीको लगत लिएर पुनःस्थापनाको खाका बनाएर बस्ती उठाउनु उचित हुने भए पनि सरकारले गलत कदम उठाएको उहाँले आरोप लगाउनुभयो ।