राममणि दाहाल
मकवानपुर, वैशाख २८ गते । बागमती प्रदेशसभाको रिक्त प्रदेश सभामुखको तत्काल निर्वाचन गर्न माग गरिएको छ ।
बागमती प्रदेशसभाका तत्कालीन प्रदेश सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा गरेपछि झण्डै आठ महिनादेखि सभामुख पद रिक्त रहेको छ ।
बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ तथा कृषि समितिले रिक्त रहेको प्रदेश सभामुख पदको तत्काल निर्वाचन सम्पन्न गर्न माग गरेको हो ।
समितिका सचिव प्रकाश चापागाईँले प्रदेश सभाको नेतृत्व गर्ने सभामुख पद लामो अवधिसम्म रिक्त रहनु केवल प्रक्रियागत विषयमात्र नभई संसदीय गरिमा, संस्थागत प्रतिष्ठा, संसदीय मूल्य, मान्यता, नैतिकता तथा लोकतान्त्रिक उत्तरदायित्वसँग प्रत्यक्ष जोडिएको संवेदनशील प्रश्न भएको भन्दै समितिको बैठकले प्रदेश सभामुख पदको निर्वाचन गर्न माग गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा तत्कालीन सभामुख पाठकले पदबाट राजीनामा घोषणा गरी असोज १ गते प्रदेश उपसभामुखलाई राजीनामा प्रदेशसभामा दिनुभएको थियो ।
तर उक्त समयमा प्रदेश सभाको बैठक चल्न नसकेका कारण प्रदेशसभा बैठकमा पेस हुन नसकेपछि प्रदेशसभाको अधिवेशन अन्त्यसँगै गत मङ्सिर ४ गते प्रदेश सभाका उपसभामुख चापागाईंले सभामुखको राजीनामाका बारेमा जानकारी गराउन सूचना जारी गर्नुभएको थियो ।
बागमती प्रदेशसभाको शिक्षा, स्वास्थ तथा कृषि समितिले प्रदेशसभा जनताको सार्वभौम अभिव्यक्तिको केन्द्र भएकोले नेतृत्व नै रिक्त रहँदा शासन प्रणालीको गरिमामा नै अनावश्यक अन्योल र सन्देह प्रवाह हुने अवस्था सिर्जना भएको निर्णयमा उल्लेख गरेको छ ।
राजनीतिक दलहरूबिच संवाद, सहमति र जिम्मेवार पहलकदमी मार्फत यथाशीघ्र सभामुख पदको निर्वाचन सम्पन्न गरी प्रदेशसभाको संस्थागत मर्यादा तथा जनविश्वास सुदृढ बनाउन बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका उपसभामुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै संसदीय दलका नेतालाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।
यस्तै समितिले कृषि उत्पादन, खाद्य सुरक्षा तथा राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भको रूपमा रहेको कृषि क्षेत्र हाल गुणस्तरीय बिउबिजन तथा रासायनिक मलको अभाव, वितरणको अव्यवस्था, कृत्रिम अभाव र कालोबजारी, ढिलासुस्ती, विचौलियाको प्रभाव रहेको भनेको छ ।
समितिले गुणस्तरीय बिउबिजन तथा रासायनिक मल समयमा आपूर्ति नहुँदा उत्पादन नै प्रभावित हुने समस्याबाट गम्भीर रूपमा कृषकहरू प्रभावित भएकोप्रति समितिको गम्भीर ध्यानाकर्षण भएको भन्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालय यसका बारेमा जानकारी गराउन निर्देशन दिने निर्णय गरेको समिति सचिव चापागाईले बताउनुभयो ।
समिति सचिव चापागाईँले रोपाइँ तथा बाली लगाउने यस प्रमुख समयमा वितरण व्यवस्थालाई प्रभावकारी, दुर्गम तथा कृषिमा निर्भर क्षेत्रलाई उच्च प्राथमिकता, पारदर्शी र किसानमैत्री बनाउँदै कृषकको सहज पहुँच सुनिश्चित गर्न मन्त्रालयले के कस्ता प्रयास अवलम्बन गरेको छ र थप प्रभावकारी बनाउन गरिएका प्रयासहरू समितिलाई जानकारी गराउन निर्देशन दिने निर्णय गरेको बताउनुभयो ।