• २८ वैशाख २०८३, सोमबार

‘सडक बालबालिका मुक्त नेपाल बनाइने छ’

blog

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्षदेखि सडक बालबालिका मुक्त नेपाल निर्माण गर्ने बताउनुभएको छ । 

सङ्घीय संसद्‌को संयुक्त बैठकलाई सोमबार यहाँ सम्बोधन गर्दै उहाँले सो कुरा बताउँदै उहाँले देशभरि आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने पनि बताउनुभयो । 

स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउन स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाउने बताउनुभयो । स्वास्थ्य बिमाको पुनःसंरचना गरिने पनि उहाँले बताउनुभयो । रोग निगरानी र नियन्त्रणको काम गरिने बताउँदै उहाँले जैविक अध्ययन, स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रणको पहल लिने बताउनुभयो । 

अत्याधुनिक अपाङ्गता अस्पताल स्थापना गरी उपचार व्यवस्था मिलाइने उहाँले बताउनुभयो । त्यस्तै, बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । राष्ट्रपति पौडेलले स्वस्थ जनशक्ति विकास गरिने बताउनुभयो । 

नेपाल औषधी लिमिटेडको स्तरोन्नति गरिने बताउँदै उहाँले सम्वत् २०८७ सम्म स्वच्छ खानेपानी उपलब्ध गराउने नीति लिइने बताउनुभयो । तराई मधेसमा आर्सेनिकमुक्त पानीको व्यवस्था गरिने र ढलमा सुधार गरिने बताउनुभयो । 

स्वास्थ्य संस्था र राजमार्ग क्षेत्रमा सुरक्षित खानेपानीका लागि पूर्वाधार निर्माण गरिने उहाँले बताउनुभयो । हुलाकी राजमार्गको स्तरोन्नति गरिने बताउँदै सडक विस्तारको काम चाँडै सम्पन्न गरिने बताउनुभएको छ । सार्वजनिक यातायातलाई भरपर्दो बनाउने पनि उहाँले बताउनुभयो । 

पूर्वाधार विकासलाई तीव्र बनाउँदै ठुला आयोजना समयमै सम्पन्न गराउने प्रभावकारी योजना बनाई कार्यान्वयन गरिने उहाँले बताउनुभयो । सडक दुर्घटना न्यूनीकरणका लागि सडक क्यामेरा, गति नियन्त्रणको उपयुक्त व्यवस्था गरिने उहाँले बताउनुभयो । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको योजना बनाइ यातायात प्रणालीलाई चुस्त बनाइने राष्ट्रपति पौडेलले बताउनुभयो । फोहर सङ्कलन, प्रशोधनका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने उहाँले बताउनुभयो । 

भूमिहिनको पहिचान गरी स्थायी आवास सुनिश्चित गरिने बताउँदै राष्ट्रपति पौडेलले सबै नयाँ निर्माणमा भूकम्प प्रतिरोधी संरचना निर्माण गरिने उहाँले बताउनुभयो । क्षति भएका पुनःसंरचना निर्माणलाई प्राथमिकता दिइने बताउनुभयो । प्रतिक्रियामुखीभन्दा तयारीमुखी विपद् व्यवस्थापनको नीति लिइने उहाँले बताउनुभयो ।