• २८ वैशाख २०८३, सोमबार

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

blog

नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौँ, वैशाख २८ गते । सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ ।

सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति पौडेलले निजामती र संस्थानका कर्मचारीलाई तटस्थ, उत्तरदायी र निष्पक्ष बनाइने उल्लेख गर्नुभयो । उहाँले ट्रेड युनियन खारेजी, कुलिङ अवधीको व्यवस्था, निजामती सेवा बोर्ड स्थापना गरिने पनि बताउनुभयो । 

सम्बोधनमा भनिएको छ :

९१. निजामती तथा अन्य सरकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवम् व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी, स्वार्थको द्वन्द्व नियन्त्रण सम्बन्धी व्यवस्था, सूचकमा आधारित कार्यसम्पादन मूल्याङ्कन प्रणाली, कुलिङ अफ अवधिको व्यवस्था र राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था गरिने छ । 

९२. निजामती सेवामा योग्यतामा आधारित नियुक्तिको व्यवस्था, विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन, नैतिक परीक्षण संयन्त्र, निजामती सेवा बोर्ड, कमजोर कार्यसम्पादन स्तर भएको कर्मचारीलाई नकारात्मक सूचीमा राखिने व्यवस्था, कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली मार्फत नतिजामुखी र नागरिकमैत्री संस्थाको रूपमा विकास गरिनेछ ।