कविराज घिमिरे
हिले, बैसाख २८ गते । धनकुटामा सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–६ का ३० वर्षीय धनबहादुर भन्ने दानबहादुर तामाङ, २२ वर्षीय प्रेमलाल घिसिङ र वडा १० का २८ वर्षीय राजु तामाङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएस्पी ज्ञानकुमार महतोका अनुसार असोज २५ गते धनकुटा नगरपालिका –७ मदनचोकमा सहिदभूमि गाउँपालिका –२ की ४० वर्षीया विष्णुकुमारी राईलाई अपरिचित तीन जनाले बाटो छेकी धम्की दिँदै गलामा लगाएको करिब १ तोला २ आनाको सुनको सिक्री डाँका चोरी गरी फरार भएका थिए ।
घटनापछि प्रहरीको विशेष निगरानी तथा प्राविधिक अनुसन्धानका आधारमा खोजतलास गर्दा असोज २६ गते राति धरान उपमहानगरपालिका –८ वराहीस्थित एक होटलमा लुकीछिपी बसेको अवस्थामा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट सुनजस्तो देखिने सिक्री, तिलहरी, कानका रिङ, दुईवटा मोटरसाइकल तथा विभिन्न कम्पनीका ६ वटा मोबाइल फोन बरामद गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।