• २८ वैशाख २०८३, सोमबार

ज्येष्ठ नागरिकको व्यवस्थापनमा गम्भीर हुन सुझाव

blog

कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरू ।

गोरखापत्र अनलाइन 

काठमाडौँ, वैशाख २८ गते । नेपालमा ज्येष्ठ नागरिकको जनसङ्ख्या द्रुत गतिमा बढेकाले उनीहरूको व्यवस्थापनमा राज्यले तत्काल पहल थाल्नुपर्ने विज्ञहरूले बताएका छन् । विगत दुई दशकमा नेपालमा ६० वर्षभन्दा माथिको जनसङ्ख्या दोब्बर भइसकेको र अझै पनि वृद्धिदर उच्च भएकाले परिवार र राज्य यसमा गम्भीर हुनुपर्ने सुझाव उहाँहरूको छ ।

मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलनमा प्रस्तुत गरिएका चार वटा छलफल सत्रमा सहभागी विज्ञहरूले अब ज्येष्ठ नागरिकको जनसङ्ख्या गनेर मात्र बस्नु उपयुक्त नुहने बताउनुभयो । त्रिभूवन विश्व विद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका सहप्राध्यापक डा. पद्मप्रसाद खतिवडाले नेपालमा बच्चा पाउने दर कम भए पनि बच्चा पाउने उमेरको जनसङ्ख्या ठुलो भएकाले यो समुह क्रमशः बुढ्यौलीतर्फ प्रवेश गरिरहेकोले नेपालमा आगामी केही दशकसम्म ज्येष्ठ नागरिरकको जनसङ्ख्या बढिरहने बताउनुभयो । 

त्रिविका पूर्व प्राध्यापक विधान आचार्यले नेपालमा स्वास्थ्य सेवाको उपलब्धता, बढ्दो आर्थिक अवस्था आदिका कारण औषत आयु बढ्दैगएको बताउनुभयो । २०३८ सालतिर नेपालीकाे औषत आयु ४९.८ वर्ष रहेकोमा हाल करिब ७० वर्ष पुगेको उहाँले जानकारी दिनुभयो ।  ‘औषत आयु बढ्नु खुसीको कुरा हो । यससँगै घरमै ज्येष्ठ नागरिकको सङ्ख्या थपियो । उहाँहरूको हेरचाह अहिलेको प्रमुख चुनौती बन्न थालेको छ’ आचार्यले भन्नुभयो, ‘यो चुनौतीको असर ज्येष्ठ नागरिकको जीवनमा परेको छ । उनीहरूले थप हेरचाह पाउनु पर्ने बेलामा अपहेलित त भएका छैन? यसमा सबै पक्षको ध्यान जानुपर्छ ।’

कपन बहुमुखी क्याम्पसका प्रमुख एवं जनसङ्ख्या अध्यता भुमिदत्त पौडेलले २०५८ सालको जनगणनामा ज्येष्ठ नागरिकको जनसङ्ख्या १४ लाख ७७ हजार ३ सय ७९ रहेकोमा २०७८ मा यो सङ्ख्या दोब्बर भन्दाबढी भएर २९ लाख ७७ हजार ३ सय १८ पुगेको बताउनुभयो । पौडेलका अनुसार नेपालको औषत जनसङ्ख्या वृद्धिदरको तुलनामा ज्येष्ठ नागरिकको वृद्धिदर झण्डै तीन गुणा बढी छ । हाल नेपालको औषत जनसङ्ख्या वृद्धिदर ०.९३ प्रतिशत छ भने ज्येष्ठ नागरिकको वृद्धिदर ३.२ प्रतिशत छ । कुल जनसङ्ख्याको १०.२ प्रतिशत मानिसहरू ६० वर्षभन्दा माथिको उमेरका छन् । 

सम्मेलनमा पत्रकार तथा जनसङ्ख्या विश्लेषक चेतन अधिकारीले ज्येष्ठ नागरिक र मिडिया कभरेजका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अधिकारीको प्रस्तुतिमा ज्येष्ठ नागरिकका समाचार सञ्चार माध्यममा ज्यादै न्यून मात्रामा प्रस्तुत भएको उल्लेख गर्नुभयो । नेपालका टेलिभिजनहरूतर्फ नेपाल टेलिभिजन सेभेन स्टार फोर केले ज्येष्ठ नागरिकसम्बन्धी अन्तरसंवाद नियमित गर्ने गरेको र यात्री मिडिया नामक युटुब च्यानलले पनि यस्तो कार्यक्रम नियमित गर्ने गरेको उल्लेख गर्नुभएको थियो ।

अधिकारीले वैशाख १६ देखि २२ गते सम्मका सात दिनको गोरखापत्र, अन्नपूर्ण र अनलाइन खबरमा प्रकाशशित समाचारको अवस्था विश्लेषण गर्नुभएको थियो ।  जसमा सात दिनमा गोरखापत्र र अन्नपूर्ण पोस्टले ज्येष्ठ नागरिकसम्बन्धी एउटा पनि समाचार प्रकाशन गरेको पाइएन । दैनिक करिब ३ सय वटा समाचार प्रकाशन गर्ने अनलाइन खबरले एक सातामा ज्येष्ठ नागरिकसम्बन्धी जम्मा तीन वटा समाचार प्रकाशन गरेको उल्लेख गर्नुभएको थियो ।  

ज्येष्ठ नागरिकसम्बन्धी समाचार भाइरल नहुने, यसमा रिर्पोटिङ गर्नका लागि कुनै पनि मिडिया हाउसले अलग्गै पत्रकारलाई जिम्मेवारी नदिने, ज्येष्ठहरूको मिडियामा पहुँच कम हुने आदि कारणले ज्येष्ठ नागरिकसम्बन्धी समाचार न्यून प्राथमिकतामा परेको उहाँको भनाइ छ । 

सम्मेलनमा कर्ण शाक्य, स्नेही सायमी, ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, डा. रमेशबाबु काफ्ले, डा.तारा काफ्ले, डा. गणेशमान गुरुङ लगायतले ज्येष्ठ नागरिकका विविध पक्षमा आफ्ना प्रस्तुतिहरू राख्नुभएको थियो । सम्मेलनमा जापान, चीन, बङ्गलादेश लगायतका देशका जनसङ्ख्याशास्त्री तथा प्राध्यापकहरूले आफ्नो देशको ज्येष्ठ नागरिक व्यवस्थापनसम्बन्धी तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । 

आयोजक प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी र ज्येष्ठ नागरिकसँगै जोडिएर आउने नाम भएकोले यो सम्मेलनको सान्दर्भिकता रहेको बताउनुभयो । उहाँले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।