• २८ वैशाख २०८३, सोमबार

अर्थमन्त्रीलाई राष्ट्र बैँकको आर्थिक र वित्तीय प्रतिवेदन पेस

blog

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्व पौडेल आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन पेस गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २८ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैँकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि मुलुकको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरेको छ । 

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बिच राष्ट्र बैँकका गभर्नर डा. विश्व पौडेलले सो प्रतिवेदन अर्थमन्त्री वाग्लेलाई बुझाउनुभएको हो ।

नेपाल राष्ट्र बैँक ऐन, २०५८ को दफा ६९ को दफा ४ मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैँकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा सरकार समक्ष प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।  

सोही प्रावधान अनुसार राष्ट्र बैँकले आगामी आर्थिक वर्षको पूर्ण बजेट निर्माणमा सहयोग पुग्ने गरी वर्तमान आर्थिक परिदृश्य, चुनौती र आगामी कार्यदिशा समेटिएको प्रतिवेदन बुझाएको हो । प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले राष्ट्र बैँकको सुझाव र वर्तमान आर्थिक अवस्थाको ठोस विश्लेषणले बजेट निर्माणमा महत्त्वपूर्ण मार्गनिर्देश गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा अर्थ मन्त्रालय र राष्ट्र बैँकका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । संसद् र बजेट निर्माणका अन्य प्राविधिक पक्षहरूमा समेत समन्वय गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई थप जनमुखी र यथार्थपरक बनाउने लक्ष्य लिएको छ ।