गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २८ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशन आज अपराह्न २ बजेदेखि प्रारम्भ भएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालको अध्यक्षतामा सुरु भएको बैठकमा सुरुमै सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसैगरी बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् हेरफेर र पुनर्गठनसम्बन्धी पत्रको बेहोरा समेत जानकारी गराइने छ ।
बैठक सञ्चालनका क्रममा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रतिनिधि सभाका विभिन्न सदस्यहरूलाई मनोनयन गरिएको छ ।
यसैबिच सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि सदनमा पेस गर्नुहुने छ ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ बैठकमा प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
सरकारका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नुहुने छ ।
त्यसैगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ पेस गर्नुभयो भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ सभामा प्रस्तुत गर्नुभएको छ ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्नुभएको छ । संसद्का महासचिव पदमप्रसाद पाण्डेयले बैठकको कार्यसूची र सञ्चालनका विषयमा आवश्यक समन्वय गर्नुभएको थियो ।