अमरराज नहर्की
तनहुँ, वैशाख २८ गते । तनहुँको म्याग्दे गाउँपालिकाले सुत्केरी गाईभैँसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ ।
पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बिमा गरेका सुत्केरी गाईभैँसीलाई एकमुष्ट पाँच हजार रुपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठका अनुसार पालिकाले पशु बिमाको प्रिमियममा किसानले तिर्नुपर्ने २० प्रतिशत रकम समेत बेहोर्ने गरेको छ ।
“पशुपालनमा रहेको जोखिम कम गर्न र किसानलाई व्यावसायिक बनाउन बिमा र पोषण भत्तालाई जोड दिएका हौँ, “अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसका साथै गाउँको बाँझो जमिन उपयोग होस् र उत्पादन लागत घटोस् भनेर प्रतिलिटर दूधमा १० रुपियाँ अनुदानको व्यवस्था समेत गरिएको छ ।”
गाउँपालिकाले गत वर्ष दूधमा अनुदानका लागि विनियोजन गरेको ३० लाख रुपियाँ अपुग भएपछि थप १८ लाख गरी कुल ४८ लाख रुपियाँ वितरण गरेको थियो ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उत्पादनमा आधारित अनुदान कार्यक्रमले पालिकामा कृषकको सङ्ख्या तेब्बर वृद्धि भएको र विदेश गएका युवासमेत फर्किएर पशुपालनमा लागेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सोमबार सूचना जारी गर्दै ‘सुत्केरी गाईभैँसी पोषण खर्च’ कार्यक्रमका लागि निवेदन आह्वान गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विनियोजित आठ लाख रुपियाँ बजेटबाट यो अनुदान वितरण गर्न लागिएको हो ।
अनुदान प्राप्त गर्नका लागि किसानले तोकिएको ढाँचामा निवेदन, नागरिकताको प्रमाणपत्र, वडाको सिफारिस, सुत्केरी भएको पशुको बिमा पोलिसी, र पशुसँगै पाडापाडी वा बाच्छाबाच्छी देखिने गरी खिचिएको तस्बिरसहित जेठ मसान्तभित्र पशुसेवा शाखामा बुझाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।
सुत्केरी पशु र बाच्छाबाच्छीको स्वास्थ्यमा सुधार आउनुका साथै साना किसानलाई आर्थिक रूपमा ठुलो राहत पुग्ने विश्वास गरिएको गाउँपालिकाले जनाएको छ ।