• २८ वैशाख २०८३, सोमबार

होस्टेलबाट हराएका तीन बालक सप्तरी प्रहरीद्वारा सकुशल उद्धार

blog

फेला परेका बालकलाई अभिभावकको जिम्मा लगाउँदै प्रहरी । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय सप्तरी ।

धीरेन्द्रप्रसाद साह

राजविराज, वैशाख २८ गते ।सप्तरी प्रहरीले हराएका तीन जना बालकलाई सोमबार सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको छ ।

फेला पर्ने बालकमा सप्तरीको बोदेबरसाइन नगरपालिका–३ गौरा टोल निवासी पंकज मण्डलका १२ वर्षीय छोरा प्रिन्स मण्डल, वरुण ठाकुरका १० वर्षीय छोरा दुर्गानन्द ठाकुर तथा सन्तोष यादवका ७ वर्षीय छोरा विकास यादव रहेका छन् ।

प्रहरीले सोधपुछ गर्दा उनीहरू सिरहाको लहानस्थित गोल्डेन इङ्ग्लिस बोर्डिङ स्कुलको होस्टेलमा बस्दै अध्ययनरत रहेको तथा कसैलाई जानकारी नदिई होस्टेलबाट निस्किएको खुलेको सप्तरी प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले तीनै जना बालकलाई प्रहरी चौकी लक्ष्मीपुरमा राखी आवश्यक सोधपुछपछि आफन्तको जिम्मा लगाएको हो ।

सोमबार बिहान करिब ४ः३० बजे सुरुङ्गा नगरपालिका–४ कदमाहा क्षेत्रमा प्रहरी चौकी लक्ष्मीपुरबाट प्रहरी सहायक निरीक्षक सञ्जय झाको कमान्डमा खटिएको गस्ती टोलीले लहानबाट कदमाहातर्फ पैदल हिँडिरहेका तीनै जना बालकलाई शङ्कास्पद अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।