• २८ वैशाख २०८३, सोमबार

जेन्जी आन्दोलनमा क्षतिग्रस्त सामग्री लिलाम गर्ने निर्णय

blog

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुली ।

खेमराज सापकोटा 

रानी (मोरङ), बैशाख २८ गते । कोशी प्रदेश सरकार मन्त्रीपरिषद्ले जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक तथा सवारी संरचनासम्बन्धी सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिनुभयो ।

बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित विपद् खोज, उद्धार तथा राहत वितरणसम्बन्धी कार्यविधि–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै, समितिबाट परिमार्जित प्रदेश बीउबिजन नियमावली–२०८३ लाई पनि स्वीकृति प्रदान गरिएको छ । प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली–२०८३ स्वीकृत गर्ने तथा उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

त्यसैगरी प्रदेश खेलकुद ऐन, पहिलो संशोधन अध्यादेश–२०८३ स्वीकृत गर्ने निर्णय भएको छ । प्रदेश राजधानी केन्द्रित रहेको वृहत विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिसका लागि सिफारिस समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको मन्त्री पराजुलीले बताउनुभयो ।

मन्त्रीपरिषद्ले स्वास्थ्य मन्त्रालयअन्तर्गत चिकित्सकको विशेष प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि–२०८२ लाई पनि स्वीकृति दिएको जनाएको छ ।