काठमाडौँ, वैशाख २८ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी भूभागका एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाकाअनुसार आज दिउँसो बैतडी, डडेलधुरा, बझाङ, डोटी, अछाम, कालिकोट आसपासका जिल्लाका केही ठाउँमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको पानी परेको छ ।
उक्त पानी पार्ने प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकोले दैलेख, सुर्खेत, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, डोल्पा आसपासका ठाउँमा केही समय मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अप्नाउन पनि आग्रह गरिएको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । भोलि मङ्गलबार र पर्सी बुधबार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भूभागमा मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।