• २९ वैशाख २०८३, मङ्गलबार

‘राम्चेमा उत्पादित चिज पाउन पालो पर्खनुपर्छ’

blog

एकातर्फ राम्चे डेरी तथा चिज उद्योगमा तयारी अवस्थामा चार पिस चिजको फोटो र अर्कोतर्फ खाली रहेको भण्डारण स्थल । तस्बिरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख २९ गते । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवाल र राम्चेका यामबहादुर पुर्जाबिच सोमबार एक प्रकारको मोलमोलाइ हुँदै थियो । चिज उत्पादक पुर्जा र बरुवालबिचको मोलमोलाईपछि बरुवालले दिएको तीन हजार बोकेर घरतर्फ लाग्नुभयो । केही बेरमा पुर्जाले एउटा चिज अनि ६० रुपियाँसहित आउनुभएको थियो । चिज र पैसासहित आएर उहाँले तीन केजीभन्दा केही कम तौल भएको रहेछ यो, त्यसैले ६० रुपियाँ फर्कियो, उहाँले सुनाउनुभयो ।

हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चे उत्पादन हुने चिजलाई बजारको माग धान्नै मुस्कील भएको छ । बजारमा माग उच्च भएकाले माग अनुसार आपूर्ति गर्न नसक्दा अहिले निकै गाह्रो भएको पुर्जाको भनाइ छ । २०७२ देखि सुरु भएको राम्चे डेरी तथा चिज उद्योगले अहिले बजारको माग धान्न नसक्दा समस्या भएको हो ।

दैनिक २ सय ५० लिटरसम्म दुध सङ्कलन हुने र त्यो दुधको चिज उत्पादन गर्दा पनि बजारको माग धान्न नसकिएको हो । अहिले राम्चे क्षेत्रका २८ जना कृषकले ४० हाराहारी गाई पालेका छन् । चिज उत्पादन हुने भएकाले गाईको दुध गाउँमै बिक्री गरेर राम्रो आम्दानी पनि गर्न सकिने स्थानीयको भनाइ छ । 

स्थानीय करुणा गर्बुजाले आफ्नो गाउँमै दुध बेचेर मासिक १० देखि १५ हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला दुध दुहेर मोही पार्ने र घ्यु उत्पादन गर्ने भए पनि अहिले दुध नै बेच्दा राम्रो आम्दानी हुने भएकाले उत्साह पनि बढेको छ ।”

दैनिक २५० लिटर दुधबाट चिज उत्पादन हुन्छ, तर माग उच्च हुने गरेको उद्योगका सञ्चालक यामबहादुर पुर्जाको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘अहिले दैनिक २ सय ५० लिटरसम्म दुध सङ्कलन हुन्छ तर त्यति दुधको चिज उत्पादन गरेर बजारमा भएको माग पनि धान्नै सकिँदैन ।’ 

एक केजी चिज उत्पादनका लागि १३ लिटर गाईको दुध आवश्यक पर्ने भएकाले दैनिक झण्डै २० केजी चिज उत्पादन हुन्छ, उहाँले भन्नुभयो । अहिले पर्यटकीय सिजन हो र यही समयमा पर्यटकीय क्षेत्रबाट चिजको माग उच्च हुन्छ तर त्यो माग अनुसार उत्पादन गर्न भने सकिँदैन । निश्चित कृषकले उत्पादन गर्ने दुधबाट चिज उत्पादन गर्ने भएकाले पनि अरु थप व्यवस्था गर्न सकिएको छैन । 

राम्चेकी प्रेमकुमारी गर्बुजा बिहान ४ बजे उठेर गाईको स्याहार गरेर गाई दुहुनुहुन्छ । गाईको दुध अहिले दैनिक राम्चे डेरी तथा चिज उद्योगमा लैजानुहुन्छ । बिहान ६ बजे उद्योगमा दुध पुर्‍याउनु पर्ने भएकाले ४ बजे उठेर घाँसपात कुँडोफाँडो गर्नुपर्ने गर्बुजाको भनाइ छ । दुधको गुणस्तरको आधारमा प्रतिलिटर ६५ देखि ६८ रुपियाँ मूल्यमा दुध गाउँमै बिक्री गर्नु पाउँदा राम्रो भएको उहाँ सुनाउनु हुन्छ । 

गाउँमा दुध बाँड्ने वा दही बनाएर मोही पारेर खाने बाँड्ने बानी परेका हामी २०७२ देखि सुरु भएको चिज उद्योगले खरिद गर्न थालेपछि गाउँमै पनि आम्दानी गर्न पाइएको छ अर्का कृषक चित्र गर्बुजाको भनाइ छ । समुद्री सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको राम्चेमा दुध बिक्री गर्ने भन्ने कल्पना थिएन, तर चिज उद्योग सुरु भएपछि नियमित रूपमा दुध बेच्न पाएको छौं, करुणा गर्बुजाले सुनाउनुभयो ।

सात लाख रुपियाँको लागतमा २०७२ देखि सुरु भएको चिज उद्योगमा अहिले नियमित चिज उत्पादन भइरहेको सञ्चालकको भनाइ छ । भारतीय सेनाबाट सेवा निवृत्त भएर केही वर्ष अफगानिस्तान पुग्नु भएका उहाँले त्यहाँबाट फर्केर चिज उद्योग सुरु गरेको बताउनुुहुन्छ । 

चिज तयार गरेको तीन महिनापछि मात्र बिक्री गर्दा राम्रो हुने भए पनि हाल त्यसरी स्टक गर्नै नपाइएको उहाँ सुनाउनु हुन्छ । उत्पादीत चिज पर्यटकीयस्थल घान्द्रुक, लान्द्रुक, पोखरा, घोडेपानी तथा भुरुङ तातोपानी, पोखरेबगर, शिख, बेनी लागायतको क्षेत्रमा उच्च माग रहेको छ ।

पहिला दुध उत्पादन मनग्य हुने, त्यो दुधको मोही पार्ने र गाउँमा बाँडेर खाने गर्ने गरेको भए पनि अहिले चिज उत्पादनले गर्दा दुध बिक्री हुन थालेको अन्नपूर्ण गाउँपालिका –८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । वडाले गत वर्ष कृषकलाई दुध बोक्ने भाँडा क्यान वितरण गरेकोमा यस वर्ष चिज उत्पादनका लागि क्रिम सेप्रेटर मेसिन उपलब्ध गराएको बताउनुभयो ।