• २९ वैशाख २०८३, मङ्गलबार

स्याङ्जाको ६ पालिका पूर्णखोप सुनिश्चित

blog

वालिङ नगरपालिकाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई सम्मानित गरिँदै । तस्बिर– राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), वैशाख २९ गते । स्याङ्जाको ६ वटा स्थानीय तहले आफ्नो पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन् । 

सदरमुकाम रहेको पुतलीबजार नगरपालिकासहित वालिङ, भिरकोट, गल्याङ् र चापाकोट नगरपालिका तथा अर्जुनचौपारी गाउँपालिकाले पूर्णखोप सुनिश्चित पालिका घोषणा गरेका हुन् । 

बालबालिकालाई सम्पूर्ण खोप दिएपछि पूर्णखोप सुनिश्चित्ता तथा दिगोपना पालिका घोषणा गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । बालबालिका खोपबाट वञ्चित हुन नपरोस् भन्नेमा पालिकाहरूले प्रतिबद्धता जनाएका उहाँको भनाइ छ ।

बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पूर्णखोप प्राप्त गरेको सुनिश्चित गर्दै खोप कार्यक्रमलाई दिगो, प्रभावकारी र निरन्तर बनाउने गरी पालिकाले योजना बनाएको वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले बताउनुभयो । 

खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मूलन गरी शिशु, बाल मृत्युदर घटाउने योजना रहेको गैह्रेको भनाइ छ । खोपबाट कोही पनि छुट्न नहुने भन्दै जिल्लाका ११ वटै पालिकामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।

यसैबिच वालिङ नगरपालिकाले आफ्नो १४ वटै वडामा रहेका स्वास्थ्य संस्थामार्फत नियमित खोप र यससम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।