• २९ वैशाख २०८३, मङ्गलबार

एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

blog

महेन्द्रनगर, वैशाख २९  गते ।  सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एसियाली विकास बैँक (एडिबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो ।

कैलालीको अत्तरीया र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख तुलसीराम खर्वुजाले कैलालीको धनगढी उप महानगरपालिकामा रहेको फोहोरमैला व्यवस्थापन केन्द्र शीघ्र सञ्चालनमा आउने दाबी गर्नुभयो ।

तोकिएको समयमै निर्माण सम्पन्न भए पनि धनगढी उप महानगरपालिका–७, पटेलामा बनिरहेको फोहाेरमैला व्यवस्थापन केन्द्रको निर्माण निर्माण पक्षले समयमै सम्पन्न गरे पनि सञ्चालनमा आउन सकेको छैन् ।

थप गरेर एक अर्ब नौ करोड लगात अनुमान रहेको उक्त व्यवस्थापन केन्द्रको ‘भिओ’ (भेरियसन अर्डर) प्रक्रियामा रहेकाले सञ्चालनमा ढिलाइ हुन गएको हो । “भिओका लागि माथिल्लो निकायमा पेस गरेका छौँ ।” सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमुख खर्वुजाले भन्नुभयो, “फोहरमैला व्यवस्थापनका लागि आवश्यक सवारी साधन र ‘स्टिमेट’मा नभएको विषयको निर्माणमा पालिकाले माग गरेपछि ‘भेरियसन अर्डर’ अघि बढाइएको हो ।”

धनगढीको फोहाेरमैला व्यवस्थापन केन्द्रमा ३० वर्षसम्म धनगढीको फोहाेर व्यवस्थापन गर्न सकिने छ । चीनको सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले ठेक्का पाएर निर्माणको काम तोकिएकै अवधीमा सकेको हो । तर ‘भिओ’का कारण निर्माण पक्षले अहिले काम गर्न पाएको छैन ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार कैलालीको अत्तरियामा करिब १० महिना र शुक्लाफाँटा नगरपालिकामा गत भदौ महिनादेखि फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आइसकेका छन् । “तीन वर्षसम्म व्यवस्गापन केन्द्र निर्माण कम्पनी आफैले सञ्चालन गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “त्यसपछि सम्बन्धित पालिकालाई हस्तान्तरण हुन्छ ।”

सुदूरपश्चिममा एडिबीले चार वटा पालिकामा फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि छनाेट गरेको भएपनि कञ्चनपुरको भीमदत्त नगरपालिकाले त्यसका लागि जग्गा उपलब्ध गराउन सकेन । धनगढीमा २२ हेक्टर, शुक्लाफाँटामा पाँच बिघा र अत्तरियामा पाँच हेक्टर क्षेत्रफलमा फोहरमैला व्यवस्थापन केन्द्र बनेका छन् ।

सञ्चालनमा आएका फोहाेरमैला व्यवस्थापन केन्द्रमा पुनः प्रयोग हुने, कुहिने र प्रयोगविहीन (नकुहिने न बिक्री हुने) गरेर तीन तरिकाले फोहर छुट्टयाएर व्यवस्थापन गरिँदै छ । शुक्लाफाँटा नगरपालिकामा फोहाेरमैला ३० करोड २५ लाख लगानीमा फोहाेरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो ।

शुक्लाफाँटा नगरपालिका–११, श्रीकृष्ण सामुदायिक वन क्षेत्र (वनहरा खोलाको पश्चिम किनार)मा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको शुक्लाफाँटा नगरपालिकाले जनाएको छ ।

शुक्लाफाँटा नगरपालिका कार्यालयका इन्जिनियर लोकेन्द्र भट्टले फोहाेरमैला व्यवस्थापन केन्द्रको काम प्रभावकारी रूपमा भइरहेको बताउनुभयो । “सबै वडामा फोहर राख्ने कन्टेनरहरू राखेको छ”, उहाँले भन्नुभयो, “सहरी वडाहरूमा प्रत्येक दिन फोहाेर सङ्कलन गरेर व्यवस्थापन केन्द्रमा लैजाने काम भएको छ ।” फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आए पनि शुक्लाफाँटा नगरपालिका सरसफाइमा जोड लिइएको उहाँको भनाइ छ । रासस