काठमाडौँ, वैशाख २९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपियाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउनुभएको छ ।
मङ्गलबार बसेको अर्थ समिति बैठकमा बोल्दै उहाँले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिको कब्जामा गएको कटु यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
अर्थमन्त्री वाग्लेले नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्ड अनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो । उहाँले केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गरेर राजनीतिक नेतृत्वसम्म प्रभावित पार्ने अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, “संस्थान र पुँजी बजारसम्बन्धी धेरै सुधार भइरहेका छन् । स्टक एक्सचेन्जको पुनःसंरचनाका लागि गठन गरिएको समितिको प्रतिवेदन कार्यान्वयन गर्छौं । पुँजी बजारबारे उदार नीतिहरू घोषणा भइसकेका छन् र आगामी बजेटमार्फत त्यसलाई थप आकार दिइने छ ।”
उहाँले विगतमा केही व्यक्तिले बजार हेरफेर, इन्साइडर ट्रेडिङ र जनताको अर्बौं रुपियाँ अपचलन गरेर आर्थिक तथा राजनीतिक संस्थामाथि समेत प्रभाव जमाएको आरोप लगाउनुभयो ।
अर्थमन्त्री वाग्लेले भन्नुभयो, “१५–१६ अर्ब रुपियाँ जनताको पैसा अपचलन गरेर मार्केट म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ र अकुत सम्पत्ति आर्जन गरिएको थियो । केही प्रभावशाली नेताहरूलाई प्रभावमा पारेर आर्थिक संस्थासमेत कब्जामा पार्ने कटु यथार्थ देखिएको थियो ।”
उहाँले ‘जेनजी आन्दोलन’लाई परिवर्तनको महत्त्वपूर्ण कारकका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको दाबी गर्नुभयो ।
सरकारले सुशासनलाई केन्द्रमा राखेर काम गरिरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पहिलो वर्ष सुशासनको आधार निर्माणमा केन्द्रित हुने र त्यसपछि विकास निर्माणका काम स्वतः अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । न्युज एजेन्सी नेपाल