राजन रावत
हुम्ला, वैशाख २९ गते । नाम्खा गाउँपालिका–५, यारीको दह क्षेत्रमा सार्वजनिक जग्गामा घर निर्माण गर्ने क्रम बढ्दै गएको छ । कर्णाली काेरिडोर अन्तर्गत सिमकोट–हिल्सा सडकखण्ड दह क्षेत्रसम्म जोडिएपछि यारीवासी पुरानो गाउँ छोडेर सार्वजनिक जग्गामा नयाँ घर निर्माण गरी बस्न थालेका हुन् ।
पहिले दह क्षेत्रमा सडक नजोडिँदा चार जनाको मात्र उवा र नाफल खेती हुने जग्गा रहेको स्थानीय नाम्ग्याल लामाले बताउनुभयो । हाल सडक विस्तार भएपछि यारी गाउँका अधिकांश स्थानीय दह क्षेत्रको सार्वजनिक जग्गामा घर बनाएर बस्न थालेका उहाँको भनाइ छ ।
सडकको ट्रयाक खोलिएपछि सुरुमा दुई जनाले माटोले छाएको एकतले घर निर्माण गरी होटेल सञ्चालन गरेको र त्यसपछि अन्य स्थानीयले पनि सार्वजनिक जग्गामा घर निर्माण गर्न थालेको उहाँले बताउनुभयो । हाल जस्तापाता छाएका र होटेल सञ्चालन गर्ने उद्देश्यले सुविधा सम्पन्न घरहरू निर्माण गरी स्थानीय बसोवास गर्दै आएका छन् ।
यद्यपि, ती घरमध्ये कुनैको पनि लालपुर्जा नरहेको बताइएको छ । सार्वजनिक जग्गामा घर निर्माण गर्नेहरूले जग्गा समेत ठुलो क्षेत्रफलमा ओगटेको स्थानीयले बताएका छन् । ती जग्गामा घर निर्माणसँगै तरकारी खेती, सवारी पार्किङ, दाउरा तथा अन्य सामग्री राख्ने कार्यसमेत गरिएको छ ।
यारी प्रहरी चौकीसमेत सोही क्षेत्रमा स्थापना गरिएको छ । प्रहरी चौकी रहेको भवन भने निजी जग्गाधनीको स्वामित्वमा रहेको जनाइएको छ । प्रहरी चौकीका अनुसार हाल यारी दह क्षेत्रमा करिब ६५ वटा घर निर्माण भई स्थानीय बसोवास गर्दै आएका छन् ।
यारीका दुई बस्तीमध्ये वारी यारीको पुरानो गाउँ भने पूर्ण रूपमा खाली भई सबै बासिन्दा दह क्षेत्रमा सरेका छन् । सार्वजनिक जग्गामा घर निर्माण गर्न नहुनेबारे स्थानीय तह, प्रहरी तथा अन्य निकायबाट स्पष्ट पहल नभएकाले निर्माण कार्य बढ्दै गएको पैदल यात्री गोरा भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार सार्वजनिक जग्गामा घर निर्माण गर्ने प्रवृत्ति रोक्नुपर्नेमा उल्टै प्रतिस्पर्धात्मक रूपमा घर निर्माण भइरहेको छ । हालसम्म कति सार्वजनिक जग्गा अतिक्रमण भएको छ भन्ने एकीन विवरण भने छैन ।