• २९ वैशाख २०८३, मङ्गलबार

बागलुङमा ‘बाहिनीपति ट्रफी’ खेलकुद सुरु

blog

‘बाहिनीपति ट्रफी’ खेलकुदमा सहभागी सेनाका खेलाडीहरू । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, वैशाख २९ गते । नेपाली सेनाको श्री २३ नम्बर बाहिनी अड्डा बागलुङको आयोजनामा ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता सुरू भएको  छ ।

२३ नम्बर बाहिनी अन्तर्गतका गण तथा गुल्महरू सहभागी हुनेगरी ‘बाहिनीपति ट्रफी’ खेलकुद प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, जुडो, बक्सिङ, तेक्वान्दो, स्विमिङ र एथलेटिक्स गरी आठ विधामा प्रतिस्पर्धा हुने छ । 

बिहीबारसम्म सञ्चालन हुने प्रतियोगितामा चार जिल्लाका २ सय ७० जना खेलाडीले पदकका लागि प्रतिष्पर्धा गर्ने २३ नम्बर बाहिनी अड्डाले जनाएको छ । प्रतियोगितामा श्री २३ नम्बर बाहिनी अड्डा, कालिजङ्ग गण घोडाबाँधे बागलुङ, इन्द्रवक्स गण मुस्ताङ, गुरुगोरख गुल्म म्याग्दी र नयाँ रणभिम गुल्म पर्वतका खेलाडीले प्रतिष्पर्धा गर्ने सेनानी श्यामबहादुर विकले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडि तथा टिमलाई ‘पृतनापति ट्रफी’ प्रतियोगितामा सहभागी गराइने छ । ‘पृतनापति ट्रफी’ प्रतियोगितामा उत्कृष्ट हुने टिम र खेलाडीले ‘प्रधान सेनापति ट्रफी’ खेलकुद प्रतियोगितामा भाग लिने छन् ।

प्रतियोगिताको सोमबार बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्तकुमार श्रेष्ठ र निमित्त बाहिनीपति महासेनानी जयराम बानियाँले उद्घाटन गर्नुभएको थियो । खेलमार्फत सेनाका सबै दर्जालाई अनुशासनमा राख्ने, स्वच्छ प्रतिस्पर्धा गरेर राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने काममा प्रतियोगितालाई अवसरको रूपमा लिइएको निमित्त बाहिनीपति महासेनानी जयराम बानियाले बताउनुभयो ।