बेरुत (लेबनान), वैशाख २९ गते । युद्धविराम सम्झौताको बाबजुद दक्षिणी लेबनानमा भएको इजरायली आक्रमणमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको सरकारी मिडियाले जनाएको छ ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए)ले सोमबार राति भएको इजरायली आक्रमणले राजधानी बेरुतबाट ९५ किलोमिटर टाढाको सहर कफर डोनिनको एउटा घरमा प्रर गरेको रिपोर्ट गरेको छ । घाइतेहरूलाई उपचारको लागि तटीय सहर टायरको अस्पतालमा लगिएको एनएनएले जनाएको छ ।
इजरायल र लेबनान बिच अप्रिल–१७ मा युद्धविराम भएको भए पनि इजरायलले दक्षिण लेबनानमा आफ्नो आक्रमणलाई तीव्र बनाएको जनाइएको छ ।
स्वास्थ्य अधिकारीहरूका अनुसार लेबनान गत मार्च–२ मा मध्यपूर्व युद्धमा तानिए पछि दुई हजार ८०० भन्दा बढी मानिस मारिएका छन् ।
लेबनानी नेताहरूले हाल बेरुतका लागि अमेरिकी राजदूतलाई इजरायललाई युद्धविरामको समयमा आक्रमण रोक्न दबाब दिन आग्रह गरेका छन् भने इजरायलले पनि गोली हानाहान भएको रिपोर्ट गरेको छ ।
इजरायली सेनाले सप्ताहन्तको समयमा लेबनानसँगको सीमा नजिकैको लडाइँमा आफ्नो एक जना सैनिक मारिएको उल्लेख गर्दै युद्ध सुरु भएदेखि १८ जना सैनिक र एक जना नागरिकको मृत्यु भएको बताएको छ ।
यसैबिच, मङ्गलबार एनएनएले अन्य दक्षिणी लेबनानी सहरहरूमा पनि नजिकै इजरायली आक्रमण भएको रिपोर्ट गरेको छ भने इजरायली सेनाले पूर्वी लेबनानको बेका उपत्यकाको सोहमोर सहर खाली गर्न आदेश दिएको छ । रासस/एएफपी