रमेश विश्कर्मा
गुल्मी, वैशाख २९ गते। गुल्मीको गुल्मीदरबार गाउँपालिकामा रहेको गुल्मीदरबार आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रूपमा लागु गरिएको छ। राष्ट्रिय स्वास्थ्य बिमा बोर्डको सहकार्यमा अस्पतालबाट स्वास्थ्य बिमा सेवा शुभारम्भ गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले गाउँपालिकावासी नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको बताउनुभयो। उहाँले स्वास्थ्य बिमा कार्यक्रम लागु भएसँगै अब गाउँपालिकाका नागरिकहरूले आफ्नै स्थानीय अस्पतालबाट बिमामार्फत उपचार सेवा लिन पाउने उल्लेख गर्नुभयो।
“नागरिक स्वस्थ भए मात्रै गाउँपालिका समृद्ध बन्न सक्छ भन्ने सोचका साथ हामीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ,” अध्यक्ष थापाले भन्नुभयो, “स्वास्थ्य सेवा गाउँमै उपलब्ध गराउने लक्ष्य अनुसार सबैको साथ र सहयोगमा आधारभूत अस्पताल सञ्चालन गरिएको हो।” अध्यक्ष थापाका अनुसार नेपाल सरकारको प्रारम्भिक चरणमा सञ्चालनमा ल्याइएका ४८ वटा आधारभूत अस्पतालमध्ये गुल्मीदरबार आधारभूत अस्पताल पनि एक हो। हाल लुम्बिनी प्रदेशभर १६ वटा आधारभूत अस्पताल सञ्चालनमा रहेका छन् भने गुल्मी जिल्लामा गुल्मीदरबार र चन्द्रकोट गरी दुई वटा मात्रै आधारभूत अस्पताल सञ्चालनमा छन्।
अस्पताल निर्माण र सञ्चालन सहज नभएको उल्लेख गर्दै अध्यक्ष थापाले सीमित स्रोत–साधनका बिच पनि गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो। उहाँका अनुसार १२ करोड ९४ लाख ५६ हजार ९१३ रुपियाँ लागतमा अस्पताल भवन निर्माण गरिएको हो। अर्जुन बिल्डर्स तम्घास गुल्मीले निर्माण गरेको उक्त भवन आधुनिक संरचनासहित तयार गरिएको छ। “भवन निर्माणदेखि सेवा सञ्चालनसम्म धेरै चुनौतीहरू थिए,” अध्यक्ष थापाले भन्नुभयो, “तर गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीय नागरिकको सहकार्यले आज यो अस्पताल गाउँकै गौरव बन्न सफल भएको छ।”
स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा गर्न गाउँपालिकाले लामो समयदेखि तयारी गरि गत माघ महिनामै स्वास्थ्य बिमा बोर्डसँग समन्वय गरी आवश्यक ‘क्राइटेरिया’ पूरा गरेपछि अनुमति प्राप्त गरेको थियो। त्यसपछि बोर्डसँग सम्झौता गरी आर्थिक व्यवस्थापन मिलाउँदै अहिले सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अध्यक्ष थापाले जानकारी दिनुभयो। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले हाल अस्पतालमा १५ शय्याको सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, सुरक्षित गर्भपतन सेवा, फार्मेसी सेवा तथा अन्तरङ्ग सेवा नियमित सञ्चालनमा रहेका छन्। अस्पतालमा आधुनिक स्वास्थ्य उपकरणहरूको समेत व्यवस्था गरिएको छ। लुम्बिनी प्रदेश सरकारको सहयोगमा बेड, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, अक्सिजन कन्सन्ट्रेटर लगायत आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य बिमा कार्यक्रम लागु भएपछि स्थानीय नागरिकलाई उपचारमा थप राहत पुग्ने विश्वास गरिएको बताउनुभयो।
बिमामा आबद्ध नागरिकहरूले अस्पतालमा निःशुल्क उपचार तथा औषधी सेवा पाउने छन्। “स्वास्थ्य बिमामा सहभागी भएका नागरिकले उपचारका क्रममा अतिरिक्त आर्थिक भार बेहोर्नु पर्दैन,” स्वास्थ्य शाखा प्रमुख अर्यालले भन्नुभयो, “त्यसैले सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध हुन आग्रह गर्दछौँ।” स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका अनुसार हाल गुल्मीदरबार गाउँपालिकामा १० हजार ६४१ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध भइसकेका छन्। गाउँपालिकाले आगामी दिनमा स्वास्थ्य सेवाको दायरा अझ विस्तार गर्दै विशेषज्ञ सेवा थप गर्ने योजना समेत अघि बढाएको जनाएको छ।
स्थानीयवासीले गाउँमै स्वास्थ्य बिमा सेवा सुरु भएपछि उपचारका लागि सदरमुकाम वा बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको उपाध्यक्ष तारा थापा ढेङ्गाले बताउनुभयो। गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ग्रामीण भेगका नागरिकलाई सहज स्वास्थ्य पहुँच उपलब्ध गराउन थालेपछि स्थानीयवासी उत्साहित बनेका छन्। सोही अवसरमा गाउँपालिकाले विशेषज्ञ सेवा शिविर पनि सञ्चालन गरेको थियो। लुम्बिनी मेडिकल कलेजको प्राविधिक सहयोगमामा नागरिकहरूको स्वास्थ्यलाई ख्याल गर्दै राखिएको शिविरमा ३४३ जनाले सेवा लिनुभयो।