• ३० वैशाख २०८३, बुधबार

मनास्लु पदमार्ग मर्मतपछि पर्यटक यात्रा सहज

blog

फिलिम–लार्केपासअन्तर्गत मर्मत गरिएको मनास्लु पदमार्ग । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, वैशाख ३० गते ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत पर्ने फिलिम–लार्केपास क्षेत्रको मनास्लु पदमार्ग मर्मत सम्पन्न भएपछि पर्यटकको यात्रा सहज भएको छ । पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तव्यसम्म पुग्न कठिनाइ भएपछि स्तरोन्नति तथा मर्मत गरिएको हो ।

चुमनुब्री गाउँपालिका–५ को राना गाउँ क्षेत्रमा पर्ने उक्त पदमार्गमा ढलान तथा अप्ठ्यारो स्थानमा रेलिङ निर्माण सम्पन्न भएपछि मङ्गलबारदेखि पदयात्रीलाई सुरक्षित र व्यवस्थित रूपमा यात्रा गर्न सहज भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो ।

पदमार्ग मर्मत नगर्दा पर्यटक तथा खच्चड आवतजावत गर्नसमेत कठिनाइ हुने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पदमार्ग पूर्ण रूपमा स्तरोन्नति सम्पन्न भएकाले स्थानीय, व्यवसायी तथा पर्यटकका लागि यात्रा सहज भएको छ ।”

मर्मतपछि पदमार्गको आकर्षण बढेको र यस वर्ष पर्यटक आगमनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । फिलिमका स्थानीय फुर्पा ग्याल्बो लामाले पदमार्ग आफ्नो गाउँको पहिचान भएकाले यसको संरक्षण र सुधारले भविष्य उज्यालो बनाउने बताउनुभयो ।

चुमनुब्री गाउँपालिका दुर्गम भौगोलिक अवस्थाका कारण अझै सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन । यहाँ दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधि तथा निर्माण सामग्री ढुवानीका लागि खच्चड नै प्रमुख साधनका रूपमा प्रयोग हुँदै आएको छ ।

गाउँपालिकाका अध्यक्ष निमा लामाले दीर्घकालीन रूपमा सुरक्षित, सहज र गुणस्तरीय पदमार्ग निर्माणका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँका अनुसार फिलिम–लार्केपास हुँदै मनास्लु पदमार्ग प्रयोग गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई ढुक्क भएर यात्रा गर्न आग्रह गरिएको छ ।

मनास्लु पदमार्गको सुधारले स्थानीय युवालाई रोजगारी, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । संघ र प्रदेश सरकारसँग बजेट माग गरिएकाले हिमाली क्षेत्रका अन्य पदमार्गका लागि समेत यो उदाहरणीय बन्ने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।