केशवराज भट्ट
बैतडी, वैशाख ३० गते । बैतडीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । डिलाशैनी गाउँपालिका–४ मठैराजका ४८ वर्षीय गणेशदत्त पन्त बुधबार बिहान घरबाट करिब एक सय मिटर टाढा सडकमा मृत अवस्थामा फेला पर्नुभएको हो ।
घटनाबारे अनुसन्धानका लागि धामीगाउँ प्रहरी चौकीबाट टोली खटिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
यसैगरी, जिल्लाको पाटन नगरपालिका–१० सल्लेबासाका राजेन्द्र भट्टको घरमा मङ्गलबार दिउँसो करिब साढे ४ बजे चट्याङ पर्दा गोठमा बाँधिएको एक गाई मरेको र एक गाई घाइते भएको प्रहरीले जनाएको छ । उक्त घटनामा घरको विद्युतीय वायरिङसमेत क्षतिग्रस्त भएको छ ।
मङ्गलबार बिहान करिब ४ बजे सूर्नया गाउँपालिका–७ झाडबोमा स्थानीय डम्मर महराको घरमा चट्याङ पर्दा एक भैँसी र एक बाख्रा मरेको प्रहरीले जनाएको छ ।