• ३० वैशाख २०८३, बुधबार

उपल्लो मुस्ताङीको सुरुभयो तिजी पर्व

blog

उपल्लो मुस्ताङको लोमान्थाङ दरबार अगाडि आयोजित तिजी पर्व मनाइँदै ।

हरिकृष्ण शर्मा 

मुक्तिनाथ (मुस्ताङ), वैशाख ३० गते । मुस्ताङको लोमन्थाङमा बुधबारदेखि १५ औं शताब्दीको ऐतिहासिक, सांस्कृतिक ‘तिजी’ पर्व मनाउन सुरु भएको छ । 

लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा बासोवास गर्ने विष्ट, लोवा, गुरूङ जाति लोमन्थाङ दरबार अगाडि बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठुलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधि अनुसार पूजाआजा गरी तिजी पर्व मनाउन सुरू गरिएको हो ।

आशा र शान्तिको कामना गर्दै सुरू भएको पर्वको पहिलो दिन जमिनका देवीदेवताको पूजाआराधना गरिन्छ भने दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य, लामा र भिक्षुहरूले धार्मिक पूजाका साथै देवीदेवताका मुकुट पहिरिएर नृत्य र तेस्रो दिन राक्षसलाई धपाएको अभिनय लगायत धार्मिक गतिविधि गर्ने गरिएको छ । तिजी पर्व बुद्ध धर्मको लामा दोर्जी सुनुको पुनर्जन्मसँग पनि जोडेर हेरिने गरिन्छ । 

तिजीमा धर्मगुरु पद्यसम्वा रिम्पोछेको तस्बिर अङ्कित ठुलो आकारको थाङको प्रदर्शन गरिएको छ । करिब साढे दुई तले घर बराबरको उचाइँको थाङका तिजीको अवसरमा सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि राखिने गरिएको लोमन्थाङ गाउँपालिकाकी उपाध्यक्ष छयुमी विष्ट गुरूङले बताउनुभयो । 

तीन दिनसम्म मनाइने पर्वको अवसरमा प्राकृतिक प्रकोप, रोगव्याधी, अनिकाल, महामारीजस्ता अनिष्ट नहुन भन्दै लामाले प्रार्थना गरिन्छ । पर्वमा लामा नाच, मुकुट नाच प्रमुख आर्कषण रहेको छ । पर्वका अवसरमा एकआपसमा वर्षभरि भएका सुख–दुख, स्नेह साटासाट गर्ने, आफ्नो समस्या समाधान गर्ने, ग्रहदशाबाट मुक्त पाउन जिल्ला बाहिर रहेका उपल्लो मुस्ताङवासी तिजीमै आउने गरेका छन् ।

लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी नर्वु गुरूङका अनुसार दोर्जी सुनुले पुनर्जन्म लिइ पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति र सुव्यवस्था कायम गरेको विश्वासमा तिजी मनाउने गरिन्छ । धार्मिक अभिलेखमा गाउँलेलाई अन्याय गर्नेहरू माथि प्राप्त विजयलाई समेत अर्को महत्त्वपूर्ण पक्ष रूपमा तिजीलाई हेर्ने गरिन्छ ।

पर्वलाई निरन्तरता दिन नसकेमा निरन्तर समस्या उत्पन्न हुने, प्राकृतिक विपत्ति आउने, मनोकामना पूरा नहुनेजस्ता समस्या देखिने किम्वदन्ती रहेकाले पनि प्रत्येक वर्ष यो पर्वमा सहभागिता जनाउन उपल्लो मुस्ताङीले आफ्नो नियमित काम छोडेर समेत दरबार अगाडि भेला हुन्छन् । तिजीमा ड्रम बजाएर प्रस्तुत गरिने लामा नाच यहाँको प्रमुख आकर्षण रहेको छ । 

तिजी विविध समस्याका कारण १९९२ देखि १९९४ सम्म रोकिएको थियो । पछिल्लो समय कोरोना भाइरसका कारण दुई वर्ष नियमित पूजाआजा बाहेक सर्वसाधारणलाई भेला हुन नदिई मनाइएको थियो । तत्कालीन समयमा मुस्ताङीले समेत तिब्वतीलाई निम्तो दिएर तिजीमा बोलाउने गरेको समेत बुढापाकाको भनाइ छ । 

तिजी पर्व अवलोकनका लागि साढे दुई सयभन्दा बढी विदेशी पर्यटकसहित स्वदेशीको समेत उपस्थिति रहेको अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय लोमन्थाङका मदन पौडेलले बताउनुभयो । माटोको पर्खालभित्र रहेको ७ वर्ष पुरानो  दरबार, गुम्बासहित प्राचीन सभ्यता नै लोमान्थाङको मुख्य विशेषता हो ।